काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत मागेका छन्। शनिबार दिउँसो बसेको प्रदेशसभा बैठकमा उनले विश्वासको मत मागेका हुन्।
बैठकमा मुख्यमन्त्री अधिकारीले १ सय ८८ को उपधारा २ अनुसार विश्वासको मत माग गरेका हुन्। अहिले गण्डकी प्रदेश सभा जारी छ। मुख्यमन्त्री अधिकारीले २ वर्षसम्म अविश्वासको प्रस्ताव लैजान नमिल्ने कानुनी व्यवस्था हुँदाहुँदै अर्को बुँदा लगाएर सरकारले विश्वासको मत पुनः लिनुपर्ने अवस्था आएको बताए।
उनले अस्थिरताको बाहक हुने कि स्थायित्वको संवाहक हुने ? भन्दै दलहरूमाथि प्रश्न गरे। ‘बाहिर प्रदेश सभा र प्रदेश सरकारको औचित्यमाथि खडा भइरहेका प्रश्नहरूको जवाफ पनि हामी सबैले सँगै जवाफ दिनुपर्ने छ। हामी केन्द्रको छाया होइनौं। हामी एकताबद्ध भएर आफ्नो अधिकारका लागि केन्द्रसँग लड्ने छौं भन्नुको औचित्य साबित भयो कि भएन। यसको जवाफ पनि खोज्नु छ,’ अधिकारीले भने।
अधिकारी गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए। उनले पुस २९ मै विश्वासको मत लिएका थिए। तर, राष्ट्रपति निर्वाचनको सन्दर्भमा केन्द्रीय गठबन्धन नै परिवर्तन भएपछि उनको सरकार संकटमा परेको थियो। संवैधानिक प्रावधान अनुसार उनले तीस दिनभित्र विश्वासको मत लिनुपर्ने थियो। सोही अनुसार उनले २९औ दिनमा शनिबार विश्वासको मत लिन लागेका हुन्।



लोकपाटी न्यूज

