भारतमा दोस्रो चरणकाे लोकसभा निर्वाचन हुँदै

india-election
लाेकपाटी न्यूज

नयाँ दिल्ली, ५ बैशाख । भारतका १२ राज्यमा दोस्रो चरणमा मतदान भइरहेको छ । विश्वकै ठूलो मानिएको निर्वाचनअन्तर्गत विभिन्न राज्यमा बिहीवार दोस्रो चरणमा मतदान गर्न सबै मतदातालाई परिचय पत्र जारी गरिएको निर्वाचन आयोगले जनाएको छ ।

यो चरणमा तमिलनाडुसहित १२ राज्य र एक केन्द्रशासित प्रदेशमा १६ करोड मानिस मतदानका लागि योग्य छन्।संसद्को तल्लो सदन लोकसभाका लागि भएको यो निर्वाचन अन्तर्गत मे १९ तारिखसम्म सात चरणमा मतदान हुनेछ। सबैतिर मतदान सकिएपछि मतगणना २३ तारिखमा सुरु हुनेछ।

प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि निर्वाचित हुन खोजिरहेका छन्। यो निर्वाचनलाई उनका लागि जनमतसङ्ग्रहका रूपमा हेरिएको छ। यद्यपि रोजगारी सिर्जना गर्ने र किसानको समस्या सम्बोधन गर्नेजस्ता आफ्ना वाचा सरकारले पूरा गर्न नसकेको विपक्षीहरूको आरोप छ।

गत एप्रिल ११ मा पहिलो चरणमा उत्तरप्रदेश, बिहार, पश्चिम बङ्गालसमेत १८ राज्य र दुई केन्द्रशासित क्षेत्रमा मतदान भएको थियो। पहिलो चरणमा मतदान भएका स्थानमा ९१ सांसद् निर्वाचित हुनेछन् भने दोस्रो चरणको मतदानबाट ९५ सांसद् छानिनेछन्।

दोस्रो चरणमा असम, बिहार, छत्तीसगढ, जम्मू(कश्मीर, कर्नाटक, महाराष्ट्र, मणिपुर, ओडिशा, पुद्दुचेरी, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश तथा पश्चिम बङ्गालका निर्वाचन क्षेत्रमा मतदान हुँदैछ। तमिलनाडुकका ३८ क्षेत्र तथा त्रिपुरा, मणिपुर र पुद्दुचेरीमा एक-एक क्षेत्रमा मतदान हुँदैछ।

मोदीको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी सन् २०१४ को निर्वाचनमा विजयी भएको थियो। भाजपाले अहिलेको जस्तै बहुमत कायम राख्न निर्वाचन अभियान चलाएको छ। तर बलिया क्षेत्रीय पार्टीहरू र राहुल गान्धीले नेतृत्व गरेको प्रमुख प्रतिपक्षी कंग्रेस पार्टीबाट उसले चुनौती खेप्नुपरेको छ ।

राहुल गान्धीका बुवा राजिव गान्धी, हजुरआमा इन्दिरा गान्धी र जिजुबुवा जवाहरलाल नेहरू सबै नै भारतको प्रधानमन्त्री बनेका थिए। उनकी बहिनी प्रियङ्का गान्धी गत जेनुअरीमा राजनीतिमा प्रवेश गरेकी थिइन्। प्रचारप्रसार निकै उग्र देखिएकोले केही पर्यवेक्षकहरूले यो मतदानलाई दशकौँको सबैभन्दा महत्त्वपूर्ण निर्वाचनका रूपमा हेरेका छन्।