काठमाडौं, ४ बैशाख। नेपाल अभिभावक महासंघका केन्द्रिय संयोजक सुप्रभात भण्डारीले विद्यालय भर्नासँगै भर्ना भएकाहरुलाई कसरी टिकाउने भन्नेतर्फ राज्य लाग्नुपर्ने बताएका छन्।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले शुल्क बढाउँदा वैज्ञानिक तवरले बढाउनुपर्नेमा जोड दिए। शुल्क वृद्धिको नाममा अभिभावकको ढाड सेकाउने काम र शोषण गर्ने काम गर्न नहुने उनको भनाई छ। शिक्षा नीति बलियो बनाउने खालको हुनुपर्ने पनि उनको भनाइ छ।
उनले भने,‘शिक्षा क्षेत्रमा देखिएका सबै खाले विकृति र विसंगतिहरु रोक्नुपर्छ।’ शिक्षामा सरकारले बजेट कम विनियोजन गरेकोमा पनि उनले गुनासो पोखे। विद्यालय भर्ना अभियानकै प्रसँगमा उनले चैत्र÷बैशाखको समयलाई अभिभावकको लागि दशा र निजी विद्यालयहरुलाई दशैंको संज्ञा दिए।
यसैबिच,हिसानका अध्यक्ष रमेश सिलवालले भर्ना अभियानलाई प्रभावकारी बनाउनेतर्फ सरकार, विद्यालय सञ्चालक र अभिभावकहरु लाग्नुपर्ने बताएका छन्। सिलवालले विद्यालय भर्ना अभियान धेरै वर्षदेखि चलिरहेकोले यसलाई मौसमी अभियान बनाउन नहुने स्पष्ट पारे।
उनले भने,‘यसबारेमा राज्यले खासगरी स्थानीय निकायले धेरै ध्यान दिनुपर्छ।’ भर्ना अभियानलाई सबैले अपनत्व लिनुपर्ने उनको भनाई छ। सिलवालले भर्ना अभियान प्रभावकारी बनाउनको लागि विद्यालयहरुले विद्यार्थीलाई आकर्षण गर्न सक्नुपर्नेमा पनि जोड दिए।
यस्तै,राष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठनका अध्यक्ष ऋतुराज सापकोटाले विद्यालय भर्ना अभियान लामो समयदेखि चल्दै आएपनि अहिलेसम्म प्रभावकारी बनाउन नसकिएको आरोप लगाएका छन्। विद्यालय भर्ना भएकाहरुलाई टिकाउनको लागि पनि अभियान चलाउनुपर्ने उनको भनाइ छ।
सापकोटाले शिक्षालाई खण्डीकरण गर्न नहुने बताएका थिए। उनले भने,‘शिक्षालय निजी वा सार्वजनिक हुनसक्छन्। तर, शिक्षा निजी हुँदैन्। त्यसैले शिक्षालाई खण्डीकरण नगरौं।’ शिक्षाको सिकाई उपलब्धिमूलक छ कि छैन् ? भन्नेतर्फ बहस हुनुपर्नेमा जोड दिए।



लाेकपाटी न्यूज

