काठमाडौं, ०४ वैशाख । धादिङ, सप्तरी, भक्तपुर र पर्सामा भएका छुट्टाछुट्टै आगलागीबाट करिब ४८ लाख ६७ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
धादिङको थाक्रे गाउँपालिका–५ दामेचौर बस्ने ईन्द्रबहादुर तामाङको घरमा मंगलबार दिउँसो ग्यास सिलिण्डर लिक भई आगलागी हुँदा तामाङको घरमा रहेको खाद्य स्टोरका सामान जलेर करिब ५ लाख रुपैयाँ र सोही घरमा रहेको गोर्खा फिनाम नगरपालिका–४ घर भएका नासिम मियाको फेन्सी पसलमा समेत आगलागी हुँदा करिब ५० हजार रुपैयाँ बराबरको समान गरी करिब ५ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
त्यस्तै सप्तरीको शम्भुनाथ नगरपालिका–३ बस्ने रमेस दास र देवेन्द्र दासको घरमा मंगलबार साँझ बिद्युत सर्ट भई आगलागी हुँदा २ वटा घर, घरभित्र रहेको अन्नपात र बिद्युत मिटर जलेर करिब ३ लाख १० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी सप्तरीको राजबिराज नगरपालिका–४ बस्ने बिनोद शाहको घरमा मंगलबार साँझ आगलागी हुँदा सोही घरमा रहेको भावनाथ देवको कपडा पसल जलेर करिब १४ लाख, मनोज शाहको होटल जलेर करिब २ लाख ५० हजार, सन्तोष साहको होटल जलेर करिब ६ लाख, बिनोद चौरसीयाको मोबाईल मर्मत केन्द्र जलेर करिब १ लाख ६० हजार रुपैयाँ र बिनोद साहको घर आंशिक क्षति भई सबैजनाको गरी जम्मा करिब ३७ लाख १० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
त्यस्तै भक्तपुरको चाँगुनारायण नगरपालिका–४ डोल्छीस्थित टहरोमा डेरा गरी बस्दै आएका मकवानपुर बागमती गाउँपालिका–७ घर भएका रत्न थोकरको टहरोमा मंगलबार साँझ अचानक आगलागी हुँदा करिब १ लाख ९२ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
त्यस्तै पर्साको वीरगंज महानगरपालिका–१० अशोकबाटीकास्थित हरेन्द्र शाहको शिवरानी आइसक्रिम उद्योगमा मंगलबार दिउँसो बिद्युत सर्ट भई आगलागी हुँदा १ लाख ५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिई घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



लाेकपाटी न्यूज
