सुर्खेत, ३ बैशाख। राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्यको मंगलबार ‘ब्रेक थ्रु’ गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङको प्रवेशद्वार भेरीगङ्गा नगरपालिका–११ को चिप्लेमा आयोजित कार्यक्रममा बटन थिचेर टनेल बोरिङ मेसिमन (टिबिएम) निकालेसँगै सुरुङको ‘ब्रेक थु्र’ भएको हो।
सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना इञ्जिनियरिङ ओभरसिज प्रालि (कोभेक) ले टनेल बोरिङ मेसिनमार्फत सुरुङ निर्माण गरेको हो । सम्झौतामा उल्लेखित अवधिभन्दा एक वर्षअघि नै सुरुङ निर्माणको काम सम्पन्न भएको हो।
बबई नदीको किनार हात्तीखालबाट १२ किलोमिटर २१० मिटर चुरे पर्वत छिचोल्दै मेसिन भेरी किनारको चिप्लेमा आइपुगेको हो । प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानीलाई सुरुङमार्फत बबई नदीमा खसालेर विद्युत उत्पादन गर्ने र ५ नं प्रदेशका बाँके र बर्दियाको ५१ हजार हेक्टर क्षेत्रफल जमीनमा सिँचाइ सुविधा र्पुयाउने उद्देश्यले आयोजना सुरु भएको हो।
सुरुङ खन्ने चुनौतीपूर्ण काम सकिए पनि आयोजनामा अन्य पूर्वाधारको काम भने बाँकी नै छन्। विद्युत उत्पादनदेखि सिँचाइका लागि पानी खसाल्ने ब्यारेज निर्माणको काम बल्ल सुरू हुँदैछ।
४६.८ मेगावाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ। यसका लागि हात्तीखालमा विद्युतगृह निर्माण कार्यको प्रक्रिया सुरू भइसकेको छ।
सिँचाइ विभागले यहाँबाट उत्पादित विद्युतको आम्दानी वार्षिक करिब रु चार अर्ब तीन करोड र बाह्रै महिना सिंचाई उपलब्धता भई कृषि उत्पादन बढेर वार्षिक तीन अर्ब १० करोड अप्रत्यक्ष आम्दानी हुने जनाएको छ।
प्रभावित क्षेत्रका बासिन्दाले पूर्वाधार विकास, मुआब्जा वितरण, रोजगारीजस्ता कार्यक्रमको प्रत्याभूति दिनुपर्ने माग गरेका छन्।



लाेकपाटी न्यूज

