प्रदेश नं ३ को प्रदेशस्तरीय सुरक्षासम्बन्धी गोष्ठी शुरु

makawanpur 3 n
लाेकपाटी न्यूज

हेटौँडा, ३ वैशाख। प्रदेश नं ३ को प्रदेशस्तरीय सुरक्षासम्बन्धी दुईदिने गोष्ठी मंगलबारदेखि हेटौँडामा शुरु भएको छ।

गृहमन्त्रालय काठमाडौँद्वारा आयोजित उक्त सुरक्षा गोष्ठीमा प्रदेश नं ३ को १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धान विभाग जिल्लाका प्रमुखका साथै सशस्त्र प्रहरी र नेपाली सेनाका उच्च अधिकृतको सहभागिता रहने मकवानपुर जिल्ला प्रशासनले जनाएको छ।

गृहमन्त्री रामबहादुर थापाले उक्त गोष्ठीलाई वैशाख ४ गते बिहान निर्देशन दिने मकवानपुरका प्रमूख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिए।

उक्त गोष्ठीमा गृह मन्त्रालयका सचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख निर्देशक गणेश अधिकारी एवं नेपाली सेनाका उच्चपदस्थ अधिकृतहरुको समेत सहभागिता रहने छ।

सुरक्षासम्बन्धी गोष्ठीमा प्रदेश नं ३ अन्तर्गत रहेका जिल्लाको शान्ति सुरक्षाका लागि समिक्षा गरिनुका साथै अपराध नियन्त्रणका प्रयास, नागरिकता वितरणसम्बन्धी तथ्याङ्कका साथै प्रदेशका सरकार प्रमुखसँग समन्वय र सहकार्य गरी प्रदेशमा सुशासन कायम गर्न गोष्ठीले सघाउ पुर्‍याउने प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्