हिन्दूराष्ट्रको मुद्दा बोक्ने अब कांग्रेसको सभापति हुन्छ : भण्डारी

shankar bhandari.JPG0101
लाेकपाटी न्यूज

काठमाडौं, ०२ वैशाख । प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री शंकर भण्डारीले पार्टीभित्र जसले हिन्दूराष्ट्रको एजेण्डा बोक्छ उही व्यक्ति आगामी १४ औं महाधिवेशनमा नेतृत्वमा आउने दाबी गरेका छन् । उनले भने, ‘जसले हाम्रो पार्टीभित्र सनातन हिन्दूराष्ट्रको एजेण्डा बोक्छ, त्यही व्यक्ति नेतृत्वमा आउँछ ।’

रिपोर्ट्स क्लबमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता भण्डारीले पार्टीको मूलविचार पनि अब हिन्दूराष्ट्र नै हुने बताए। भण्डारीले पछिल्लो घट्नाक्रम हेर्दा मुलुक नयाँ प्रकारको द्वन्द्व, झगडा र कलहमा फस्न लागेको त होइन भन्ने प्रश्न उब्जिएको बताएका छन्।

पृथ्वीनारायण शाहको शालिक ढालेर सगौरवको क्रान्तिकारी अनुभुति गर्नेहरुका कारण मुलुकको स्वाभिमान, स्वाधीनता र राष्ट्रियता कमजोर भएको उनको भनाइ छ । उनले भने, ‘मुलुकको राष्ट्रियता बलियो बनाउने काम पो गर्नुपर्छ । कमजोर बनाएर गौरव गर्नुहुँदैन।’

उनले मुलुकमा दुई तिहाई बहुमतको सरकार हुँदा पनि जनता ढुक्क हुन नसकेको गुनासो पोखे । भण्डारीले देशको पहिचान भनेको नै सनातन हिन्दूराष्ट्र भएको बताए । उनले भने, ‘अहिले पनि हाम्रो देशमा धार्मिक पर्यटकहरु बढी आउँछन् । सनातन हिन्दू धर्म भनेको मुलुकको समृद्धिको आधार पनि हो ।’ प्रदेश नम्बर ४ का ९० प्रतिशत आदिवासी तथा जनजातिहरु हिन्दूवादी भएको उनको दाबी छ । उनले भने, ‘बुद्ध र शिवको एउटै मन्दिरमा पूजा हुन्छ ।’

वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण गर्न, मूल्यवृद्धि नियन्त्रण गर्न, लगानीको वातावरण बनाउनको लागि पूर्ण रुपमा असफल भएको पनि उनको आरोप छ । उनले सरकारको विरोध गर्न दिनभरि कुरा गर्दापनि समय नपुग्ने तर समर्थन गर्नको लागि एउटापनि आधार नभएको जिकिर गरे । उनले ईतिहाँसमै मुलुक यति कमजोर कहिल्यै पनि नभएको आरोप लगाए ।