समाचार लेखेकै आरोपमा ‘ताण्डव’का सम्पादक पक्राउ

Tandaw
लाेकपाटी न्यूज

पोखरा, २ बैशाख । पोखराका पत्रकार अर्जुन गिरी पक्राउ परेका छन् । आइतबार समाचार लेखेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गिरीले केही दिनअघि ‘ताण्डव न्युज डटकम’मा ठगीको समाचार लेखेका थिए। सोही समाचारलाई आधार बनाएर प्रहरीले उनलाई ‘साइबर क्राइम’अन्तर्गत पक्राउ गरेको छ। प्रहरीका अनुसार समाचारमा उल्लेखित विपिन बतासको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो। पक्राउलगत्तै उनलाई काठमाडौँ ल्याइएको छ ।

गिरी नेपाल पत्रकार महासंघका साधारण सदस्य तथा ताण्डव न्युज साप्ताहिक र ताण्डव न्युज डटकमका सम्पादक हुन्। गिरीलाई प्रहरीले पक्राउप्रति नेपाल पत्रकार महासंघ कास्की शाखाले आपत्ति जनाएको छ।

शाखा अध्यक्ष दीपेन्द्र श्रेष्ठद्वारा जारी विज्ञप्तिमा समाचारको विषयमा चित्त नबुझे नियमनकारी निकाय प्रेस काउन्सिलमा उजुरी गर्नुपर्ने र आवश्यक परे कारबाही गर्नुपर्ने प्रावधान हुँदाहुँदै साइबर क्राइमको मुद्धा दायर गरिनु खेदजनक भएको उल्लेख छ। महासंघ कास्की शाखाले गिरीको अविलम्ब रिहाईको माग समेत गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्