काठमाडौं, २ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी बैशाख ११ गते चीन भ्रमणमा जाने भएकी छिन्। चीनको महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनका लागि राष्ट्रपति भण्डारी चीन जान लागेकी हुन्।
उक्त सम्मेलन अप्रिल २५ देखि बेइजिङमा हुँदैछ। राष्ट्रपति भण्डारी सियान हुँदै बेइजिङ पुग्ने कार्यक्रम तय भएको छ। जहाँ राष्ट्रपति भण्डारीले चिनियाँ कम्युनिष्ट पार्टीका प्रान्तस्तरीय नेताहरूसँग भेटवार्ता गर्नेछिन्।
सियान भ्रमण सकेर राष्ट्रपति बेइजिङ जाने छिन्। राष्ट्रपति भण्डारीले राष्ट्रपति सी चिनफिङसंग पनि भेटवार्ता गर्नेछिन्। जहाँ नेपाल(चीन पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुनेछ। यता चीनले नेपालका राष्ट्रपतिको स्वागतका लागि पहिलो पल्ट रेड कार्पेट बिछ्याउन लागेको छ।
अघिल्ला राष्ट्रपति डा.रामवरण यादवले दुई पटक चीन भ्रमण गरे पनि बेइजिङमा आमन्त्रण भएको थिएन्। चीनले दक्षिण एसियाको ढोकाका रुपमा नेपाललाई प्रस्तुत गर्दै राष्ट्रपछिलाई उच्च प्राथमिकतामा राखेर भ्रमणलाई द्विपक्षी बनाउने भएको छ।
अप्रिल २५ देखि बिआरआईको दोस्रो शिखर सम्मेलन बेइजिङमा हुँदैछ। चीनले एसिया, अफ्रिका र युरोपलाई जल र जमिनबाट जोड्ने लक्ष्यसाथ ल्याएको बिआरआईमा नेपालले हस्ताक्षर गरिसकेको छ।
जसमा नेपालले सहभागिता जनाउँदैछ तर भारतले भने उक्त सम्मेलनमा सहभागी हुन अस्वीकार गरेको छ। चीनले यस सम्मेलनमा भाग लिनका लागि भारतलाई निम्तो गरेपनि भारतले भने निम्तो नै अस्वीकार गरेको हो।



लाेकपाटी न्यूज

