नेपालीहरुको घरआँगनमा २०७५ साल बिदा भएर २०७६ सालको आगमन भएको छ। नयाँ वर्षले सम्पूर्ण नेपालीहरुमा नयाँ आशा, उत्साह, उमङ्ग र संकल्प भरिदिएको छ। वि.सं. २०७५ सालमा अधुरा रहेका सपना, संकल्प र योजना पूरा गर्न नयाँ वर्ष विशेष रुपमा सफल रहनेछ। सर्वप्रथम लोकपाटी मीडिया प्रा.लि.का तर्फबाट हाम्रा पाठक वर्ग, विज्ञापनदाता, कर्मचारी, लेखक, स्तम्भकार, सहकर्मी, शुभेच्छुक एवं सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
२०७५ साल मूलतः मिश्रित रह्यो। राजनीतिक स्थिरताका दृष्टिले अघिल्लो वर्ष सम्झनलायक छ। विकास र समृद्धिका ठूला योजनाको जग बसाउने दृष्टिले पनि २०७५ लाई महत्वपूर्ण नै रह्यो। अघिल्लो वर्ष विकास, समृद्धि, सुशासनका दृष्टिले मध्यम वर्ष रह्यो। सामाजिक जीवनका धेरै व्यक्तिले उचाइ हासिल गरे। वैदेशिक रोजगारीलाई मर्यादित बनाउन, जलविद्युतमा जनताको सहभागिता सुनिश्चित गर्न, राष्ट्रिय अर्थतन्त्रलाई स्थिर राख्न अघिल्लो वर्षले खेलेको भूमिका विशेष स्मरणीय छ।
तर, सुशासनका दृष्टिले २०७५ साल उत्साहवर्द्धक हुन सकेन। भ्रष्टाचारको ग्राफ घट्न सकेन। जनताको दैनिक जीवनमा परिवर्तनको जुन अपेक्षा गरिएको थियो, त्यसले व्यवहारिक रुप लिन सकेन। कर्मचारी प्रशासनको कागजमूखी कार्यशैलीमा सुधार आउन सकेन। जनताले दुईतिहाईको स्थिर सरकारबाट जुन अपेक्षा गरेका थिए, त्यो रछ्यानमै रहे। देशले काँचुली फेर्ने संकल्पमा गति आउन सकेन। २०७५ साल उच्च र मध्यम तहमा आशावादिता र समाजका पिँधका समूहमा निरासाको वर्ष बन्यो।
लोकपाटी अनलाइन समाचार, सूचना, विचार, बहस, इतिहास, अनुसन्धान र ज्ञानविज्ञानका क्षेत्रमा सार्थक बहसका लागि सञ्चालनमा आएको हो। सात महिनाको अवधिमा हामीले जुन प्रयत्न गरेका छौं, त्यो पूर्ण छैन। तर, हामी आशावादी छौं। सात महिनाको अवधिमा यहाँहरुले जुन सहयोग, साथ र सद्भाव व्यक्त गर्नुभयो, त्यसले हामीलाई उत्साहित बनाएको छ। उहाँहरुका आलोचना, टिप्पणी र सुझाव हाम्रा लागि अमूल्य सम्पत्तिका रुपमा सुरक्षित राखेका छौं।
हाम्रा समस्त पाठक वर्ग, विज्ञापनदाता र शुभेच्छुकहरुमा निरन्तर सहकार्य र नयाँ–नयाँ सामग्री प्रकाशित गर्ने प्रतीज्ञा गर्दछौं। सधैं नकारात्मक समाचार र सामग्री प्रकाशन गरेर समाजमा निराशा बाँड्नुभन्दा आशावादिताको सम्प्रेषण गर्नु हामीले आफ्नो प्रमूख जिम्मेवारी ठानेका छौं। समाजलाई सकारात्मक दिशामा अघि बढाउन हाम्रो पनि दायित्व छ, यो दायित्व हामीले गम्भिरतापूर्वक वहन गर्नेछौं। समाजमा कुना–कुनामा रहेका प्रतिभाहरुलाई राष्ट्रिय पहिचानमा स्थापित गर्न लागिरहनेछौं।
अन्त्यमा, हाम्रा पाठक, विज्ञापनदाता एवं शुभेच्छुकहरुमा नयाँ वर्ष २०७६ को सुखद उपलक्ष्यमा सुख, शान्ति, समृद्धि एवं निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं। साथै विगत वर्षजस्तै यहाँहरुको अमूल्य साथ, सहयोग, सदभाव र समीक्षाको अपेक्षा गर्दछौं, धन्यवाद।



लाेकपाटी न्यूज

