हाेला त जेठ दोस्रो साता स्ववियू चुनाव ?

student-union.
लाेकपाटी न्यूज

काठमाडौं, २९ चैत । गत फागुन १४ गते हुने भनिएको स्ववियू चुनाव हुन नसकेपछि स्ववियु चुनाव अन्यालमा नै देखिन्छ । तर, त्रिभूवन विश्वविद्यालयले आगामी जेठ दोस्रो साता स्ववियू निर्वाचन प्रस्ताव गरेको छ ।

बिहीबार केन्द्रीय स्ववियु निर्वाचन समन्वय समितिले विद्यार्थी संगठनहरुसँग संयुक्त छलफल गरेको थियो ।छलफलमा समिति अध्यक्ष एवम् त्रिभूवन विश्वविद्यालयकी रेक्टर प्रा.डा. सुधा त्रिपाठीले परीक्षा लगायतका कार्यक्रम नभएकाले जेठ दोस्रो साता स्ववियू निर्वाचन गर्नु उपयुक्त हुने बताएकी थिइन् । साथै उनले निर्वाचनका लागि विश्वविद्यालयलाई सबै विद्यार्थी संगठनहरुको साथ र समर्थन पनि आवश्यक रहेको बताइन् ।

बैठकमा सहभागी अनेरास्ववियू (क्रान्तिकारी)का कार्यवाहक अध्यक्ष सुरेन्द्र बस्नेतले भने, ‘केन्द्रीय स्ववियू निर्वाचन समन्वय समितिका पदाधिकारीले छिट्टै ठोस मिति तोक्ने भन्नु भएको छ । बैठकमा सहभागी सबै विद्यार्थी नेताहरु पनि स्ववियू चुनाव गर्न सकारात्मक छन् ।’

बैठकमा नेविसंघका प्रतिनिधि कोही पनि उपस्थित नभएकाले ठोस मिति घोषणा भने भएन । नेविसंघ कार्यसमिति हाल भंग भएकाले बैठकमा प्रतिनिधित्व नभएको हो । बैठकमा नेकपा सम्बद्ध अनेरास्ववियू र अनेरास्ववियू अखिल (क्रान्तिकारी) तथा मोहन वैद्य र नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल क्रान्तिकारीका नेताहरु सहभागी थिए ।

यसैगरी नयाँ शक्ति पार्टी निकट नयाँ शक्ति विद्यार्थी युनियन, संघीय समाजवादी फोरम निकट समाजवादी विद्यार्थी फोरम, राजपा निकट विद्यार्थी संगठन, नेकपा निकट नेपाल क्रान्तिकारी विद्यार्थी संघ, राप्रपा निकट राप्रविसं, राप्रपा संयुक्त निकट राप्रविसं (संयुक्त), आदिवासी जनजाति विद्यार्थी महासंघ र नेपाल प्रगतिशिल विद्यार्थी युनियनका प्रतिनिधि बैठकमा सहभागी थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्