आन्दोलनरत चिकित्सककाे माग पूरा हुँदैन : मन्त्री यादव

surendra yadav 3
लाेकपाटी न्यूज

काठमाडौं, २८ चैत । आन्दोनरत सरकारी चिकित्सकहरूको माग पूरा नहुने भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले सरकारी चिकित्सकहरुले जुन माग राखेर सेवा बहिष्कार गरीरहेका छन् त्यो माग पूरा नहुने बताएका हुन्।

उनले भने, ‘उहाँहरूको सेवा सुविधाको लागि सरकार गम्भीर छ तर अहिले उहाँहरू जुन माग राखेर आन्दोलन गरिरहनुभएको छ, त्यो माग भने पूरा हुँदैन।’ सरकारी चिकित्सकहरू सरकारले सार्वजनिकी भएको समायोजन सूचीको विरुद्धमा आन्दोलन गरिरहेका छन् ।

यस्तै अर्को प्रसंगमा मन्त्री यादवले समायोजन मानेर स्थानियतह र प्रदेशमा जादैनौँ भन्नु चिकित्कहरूको कानुन मान्दिनँ भन्नुरहेको समेत उनले बताए। यस्तै मन्त्री यादवले वीर अस्पतालका केही डाक्टरको ‘इन्ट्रेष्ट’मा आन्दोलन भइरहेको भन्दै त्यो माग पूरा हुन नसक्ने बताएका हुन्। ‘हामीले हेरिरहेका छौँ बुझिरहेका छौँ।

कर्मचारी समायोजन ऐन आइसक्यो। सोही ऐनअनुसार समायोजन भएको हो। यसमा आपत्तिको विषय के छ र वीर अस्पतालका केही डाक्टरको इन्ट्रेसले समग्र स्वास्थ्य सेवालाई प्रभावित गर्न पाइन्छ? त्यसकारण यो पूरा हुने माग छैन, पूरा पनि हुँदैन।’

यस्तै राज्यमन्त्री डा. यादवले यसअघि सरकारी चिकित्सक संघ संग स्वास्थ्य मन्त्रालयले गरेको सम्झौँता पनि कार्यान्वयन गरेको दावी गरे। उनले भने ‘हामीले त्यसबेला बार्ता गर्दा स्पष्ट भनेका थियौँ। चिकित्सकको मागलाई सम्वोधनका लागि सामान्यलाई अनुरोध गर्ने। हामी अनुरोध त गरयौँ । अब सामान्यले नै मान्दैन त हामी के गर्ने ? हामीले सहमति अनुसार अनुरोध त गरेकै हो नि।’

सरकारी चिकित्सक संघको आन्दोलनमा सरकारले बल प्रयोग गरेपछि नेपाल चिकित्सक संघले बिहीबार चिकित्सकहरूको बृहत बैठक बोलाएको छ। सरकारी चिकित्सकको आन्दोलनमा यसअघि नै ऐक्यबद्धता जनाइसकेको संघले आन्दोलनलाई कसरी अघि बढाउने भन्नेबारे छलफल गर्न बृहत बैठक बोलाइएको संघले जनाएको छ।

चिकित्सकहरूले सेवा बहिष्कार गरी आन्दोलन गरिरहेका बेला सरकारले बार्ताको माध्यमबाट समाधान खोज्नुको साटो बल प्रयोग गरी धरपकड गर्न थालेपछि आजको भेला बेला बोलाउनुपरेको संघका महासाचिव डा. लोचन कार्कीले बताए।

सरकारी चिकित्सकहरुले समायोजन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै गत शुक्रबारदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन्। चिकित्सकहरूले आफूहरुलाई संघअन्तर्गत नै राख्नुपर्ने लगायतका माग राखेका छन्। चिकित्सकहरूको भेला नेपाल चिकित्सक संघको कार्यालयमा दिउँसो २ बजेका लागि बोलाइएको छ।

एक हप्तादेखि सेवा रोकेका चिकित्सकहरुले बुधबारलेखि वीर अस्पतालमा चौरमा बसेर ओपिडी सेवा दिएका थिए। सरकारी चिकित्सकहरुले सरकारले निर्णय नसच्याएसम्म आन्दोलन जारी राख्ने बताएका छन्। पटकपटक सहमति गरेर आफूहरूलाई सरकारले धोका दिएको दाबी गर्दै आएका चिकित्सकले यसपालि आफूहरूको आन्दोलन वार कि पार पार्ने भन्दै आन्दोलनमा उत्रिएका छन्।

यसपालि आफूहरूका माग पूरा नभए अन्तिम विकल्पमा सरकारसमक्ष राजीनामा बुझाउने चिकित्सक संघले यसअघि नै घोषणा गरिसकेको छ। उनीहरूले कुनै पनि स्वास्थ्य संस्थाबाट मेडिकलको कुनै पनि औपचारिक सेवा नदिने र बैठक, तालिम तथा गोष्ठीहरूमासमेत भाग नलिने यसअघिनै घोषणा गरिसकेको छ।

आफूहरूको माग पूरा नभए राजिनामा दिने घोषणा गरेको संघले हालसम्म ७०० चिकित्सकहरूको राजीनामापत्र संकलन भइसकेको संघका अध्यक्ष डा दीपेन्द्र पाण्डेले बताए। यस्तै, सरकारले तयार पारेको समायोजन पत्रसमेत आफूहरूले नबुझ्ने संघले घोषणा गरेको छ।

यसअघि पुस २२ गते पहिलो आन्दोलन गर्दा सरकारले ८ बुँदे सहमति गरेर आन्दोलन स्थगित गरेका चिकित्कहरूले माघको २७ गते पुनः दोस्रो आन्दोलन गरेका थिए। तर, हाल तेस्रो आन्दोलन गरेका चिकित्सकहरूको आन्दोलनको तेस्रो दिन आइपुग्दासम्म सरकारले आफूहरूको मागलाई कुनै सुनुवाइ नगरेको संघका अध्यक्ष डा. पाण्डेले बताए।

समायोजनमा आफूहरूलाई संघ अन्तरगर्त राख्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकले शुक्रबारबाट देशभरका सरकारी अस्पतालमा आकस्मिकबाहेकका सेवा बहिस्कार गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्