भैरहवा, २७ चैत । इण्डियन प्रियमर लिग (आईपीएल) को नाममा सट्टाबाजी खेलाउने ६ जना पक्राउ परेका छन् । भैरहवाबाट उनीहरु आईपीएल सट्टाबाजी र तास खेलीरहेको अवस्थामा पक्राउ परेका हुन् ।
भैरहवाको कालिका पथस्थित प्रनिशकुमार चौधरीको घरमा सट्टाबाजी र तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले जानकारी दिए । आईपीएलको सट्टाबाजी हुने गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेर ६ जनालाई पक्राउ गरेको हो।
स्रोतका अनुसार प्रहरीले चौधरीको घरबाट ३ खाता, लेजर बरामद गरेको छ । जसमा सट्टाबाजी खेल्ने व्यक्तिको नाम, प्रतियोगिता भएको टिमको नाम, विजयी टिमको नाम, सम्बन्धित टिमलाई दिएको रकम, रन, सट्टा लगाएको रकम, लिएको रकम, नगद, उद्यारोलगायत सट्टाबाजीको पूर्ण विवरण उल्लेख छ। बरामद लेजरमा एउटा टिमको खेलमा लाखौँ रुपयाँको सट्टाबाजी हुने गरेको देखिएको छ।
पक्राउ पर्नेहरुमा घरधनी सिद्धार्थनगर नगरपालिका १२ का प्रनिशकुमार चौधरी, सिद्धार्थनगर नगरपालिका ७ का पुरुषोत्तम रेग्मी, मायादेवी गाउँपालिका ८ का अर्जुन सुनार, सोही स्थानका रामेश्वर कोइरी, अमृत विक, यमबहादुर कुर्मी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवं डिएपी धर्मराज भण्डारीले पक्राउ परेका व्यक्तिको साथबाट करिब ९० हजार रुपैयाँ बरामद भएको बताए। लेजर नै बनाएर गरेर निकै व्यवस्थित सट्टाबाजी खेलाउने गरेको पाइएको छ डिएसपी भण्डारीले बताए ।
सट्टाबाजी कारोबारको विवरण बरामद भएका तीन रजिष्टरमा लेखिएको छ । उनीहरुमाथि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसन्धान अधिकृत एवं प्रहरी निरीक्षक उमेश जोशीले जानकारी दिए।
भैरहवाको विभिन्न स्थानमा सट्टाबाजी खेलाउने गरिए पनि खातापातासहित व्यक्ति पक्राउ गरिएको यो पहिलो घटना हो।



लाेकपाटी न्यूज

