काठमाडौं, २७ चैत। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गतको उपसमितिका संयोजक अग्निप्रसाद सापकोटाले तारागाउँ रिजेन्सी होटल्स छानबिनका क्रममा आफूलाई ठूलो दबाब आएपनि प्रभावमा नपरी प्रतिवेदन तयार पारेको स्पष्ट पारेका छन्।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता सापकोटाले यस्तो बताएका हुन्। उनले भने, ‘तारागाउँ रिजेन्सी होटल्सलाई हक हस्तान्तरण गरी दिएको एक सय ५० रोपनी जग्गा सरकारको स्वामित्वमा ल्याउन निर्देशन दिएका छौं। हामीले सरकार र अख्तियारलाई सहयोग पुग्ने गरी नै प्रतिवेदन ल्याएका छौं।’
नेता सापकोटाले यो प्रकरणको उजागरसँगै मुलकमा बहुआयामिक भ्रष्टाचारको रहस्योद्धघाटन भएको सुनाए। उनले भने, ‘अहिले हाम्रो देशमा बहुआयामिक भ्रष्टाचार व्याप्त रहेको छ भन्ने कुरा उजागर भएको छ। एकपछि अर्को गरेर भ्रष्टाचार र अनियमितताका कुरा बाहिर आएका छन्।’
प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख निवासकै जग्गा व्यक्तिको नाममा दर्ता भएको कुरा बाहिर आएको सुनाउँदै यो लज्जाको विषय भएको उनको टिप्पणी छ। उनले भने, ‘भू–माफिया र जग्गा दलालहरु सलबलाए, यो त दुःखको कुरा हो। मुलुकमा अहिले भ्रष्टाचारको सिकञ्जामा परेको छ।’
उनले आफूहरुले तारागाउँ होटेलकै सवालमा पनि सत्यको अन्वेषण गरेको सुनाए। उनले भने, ‘भ्रष्टाचारको नियन्त्रण गर्नुपर्छ। राष्ट्रको सम्पत्ति हिनामिना गर्नेलाई कठघरामा ल्याउनुपर्छ।’ उनले हत्तपत्त कुनै जिम्मेवारी नलिने र लिएपछि त्यसलाई पूरा गरेरै छोड्ने आफ्नो स्वभाव रहेको सुनाउँदै भने, ‘जिम्मा लिएपछि त्यसलाई राम्रोसँग पूरा गरेर छोड्ने स्वभाव छ। यो केशमा पनि मैले त्यही गरें।’
सापकोटाले छानबिनका लागि आफूहरुले पटकपटक गरी १४ वटा बैठक गरेको पनि सुनाए। उनले भने, ‘यो १४ महिनाको अवधिमा हामीले औपचारिक तथा अनौपचारिक रुपमा धेरैपटक छलफल गर्यौं, सर्वोच्च अदालत, उच्च अदालत र विशेष अदालतका पूर्व न्यायाधीशहरु, कानूनविद् तथा विज्ञहरुसँग सयौं पटक छलफल गर्यौं।’
यद्यपि, उनले छानबिनका क्रममा सम्बन्धित सरकारी निकायबाट नै सहयोग नपाएको गुनासो पोखे। उनले भने, ‘हाम्रो विज्ञ पनि भएनन्। छानबिनका क्रममा हामीलाई विज्ञको अभाव भयो।’ तत्कालीन तारागाउँ विकास समितिका नाममा रहेको जग्गा सरकारको स्वामित्वमा ल्याउन सुझावसहितको प्रतिवेदन आफूहरुले बुझाइसकेकाले अब सरकारले सोहीअनुसार काम गर्नुपर्ने उनले स्पष्ट पारे। उनले भने, ‘ह्यात होटेल व्यवस्थित छ, होटेलको सम्पत्ति दिनदिनै बढिरहेको छ। तर, सरकारको सम्पत्ति घट्दैछ। ३०४ रोपनी जग्गा क्षतविक्षत बनाइएको छ।’
उनले लिज सम्झौता पनि गैरकानूनी ढंगले गरेको पाएपछि त्यो रद्द गर्न आफूहरुले निर्देशन दिइसकेको स्पष्ट पारे। उनले भने, ‘समग्र प्रक्रियामा प्रपञ्च मिलाइएको रहेछ। दिमाग चकराउने कागजपत्र मिलाइएको रहेछ। लिज सम्झौता पनि नेपालीमा एक खालको छ, अनि अंग्रेजीमा अर्कै खालको छ।’ हरेक कुरामा कर्पोरेट शैलीमा जालझेल र छलछाम गरिएको उनले जिकिर गरे।
आफूहरुले १४ बुँदे निर्देशन दिएको पनि उनले सुनाए। तीमध्ये ८ वटा बुँदामा अख्तियार दुरुपयोग अनुशन्धान आयोगलाई दिएको उनले स्पष्ट पारे। उनले भने, ‘हामीले पर्यटन मन्त्रालयले के गर्ने ? भूमि व्यवस्था मन्त्रालयले के गर्ने र अर्थ मन्त्रायलयले के गर्ने भन्नेबारे क्याटगोरी नै छुट्टाएर निर्देशन दिएका छौं।’
छानबिनका क्रममा आवश्यक कागजपत्र माग्दा अर्थ मन्त्रालयले यो धेरै वर्ष पूरानो कुरा हो र यसको अभिलेख भेटिएन भनेर जवाफ दिएको भन्दै उनले गुनासो पोखे। उनले भने, ‘हाम्रो सरकारी निकाय जिम्मेवार छैनन् भन्ने कुरा यसले देखाएको छ।’
भू–माफियाहरुले मालपोत कार्यालयका अधिकारी, कम्पनी रजिष्ट्रारका पदाधिकारी, सरकारी प्रतिनिधिहरुलाई प्रभावमा पारेर सरकारी सम्पत्ति हडप्नेगरि ठूला–ठूला निर्णय गर्न सफल भएको भन्दै उनले त्यसतर्फ राज्यको विशेष ध्यान जान जरुरी रहेको सुनाए। उनले भने, ‘होटेल ह्यात रेजेन्सी तालुकको अड्डा र तारा गाउँ विकास समिति चाहीँ त्यसको अंग जस्तोगरि कतिपय सम्झौता भएका छन्। यो देखेर अचम्म लाग्यो। यो त प्रतिनिधि घटना मात्रै हो। पोखराको सरकारी जग्गाको कुरा थाहा पाइहाल्नुभएको छ। नेपालगञ्जको त्यस्तै छ। जताततै भ्रष्टाचारले गाँजेको छ।’
शारदाप्रसाद त्रिताल आयोग र आफूहरुको उपसमितिले सरकार र अख्तियारलाई नै सहयोग पुग्ने गरी प्रतिवेदन बाहिर ल्याएको उनको जिकिर छ। उनले भने, ‘सरकारले अब धमाधम कारबाही गर्नुपर्छ। र, जतालाई जानकारी गराउनुपर्छ।’
आफू नेतृत्वको उपसमितिले समितिका नाममा विभिन्न स्थानमा रहेको सम्पत्तिको संरक्षण र सदुपयोगको सन्दर्भमा अध्ययन, अवलोकन भ्रमण तथा सम्बद्ध निकाय एवं पक्षबाट प्राप्त भएका कागजातका आधारमा निष्कर्ष निकालेको सापकोटाको भनाइ छ।
उनले आफूहरुले प्रतिवेदनमात्रै नबुझाएर समाधानको उपाय पनि सुझाएको स्पष्ट पारे। फरक प्रसङ्गमा उनले आफूलाई यो प्रकरणमा दबाब पनि आएको बताए। उनले भने, ‘पूर्व भूमिसुधार मन्त्री जितु गौतममार्फत् मलाई दिनेशलाल श्रेष्ठले भेट्न खोजेको प्रस्ताव आएको थियो। मैले उपसमितिमा आउनुहोस्, म बैठकको व्यवस्था गरिदिन्छु भनें। तर, पछि उहाँहरु आउनुभएन।’
फरक प्रसङ्गमा उनले पार्टी एकता पनि चाँडै टुँगो लाग्ने विश्वास दिलाए। उनले भने, ‘पार्टी एकता विलम्ब भएको छ। हुनै नहुने कुरा भयो । तल्लो तहसम्म एकता नहुँदा ठूलो नोक्शानी भएको छ।’ अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवैले पार्टी एकताका लागि विलम्ब भएको स्वीकार गरेको पनि उनले सुनाए। आगामी बैशाख ९ गते लेनिन दिवस परेकाले त्यही दिन एकता टुँगो लाग्ने पनि उनले दाबी गरे।
भुकम्पका कारण बन्द रहेको तातोपानी नाका खुलाउन आफू सुरुदेखि नै लागि परेको उनले जनाए। उनले भने, ‘४६ महिना भयो, यो नाका बन्द भएको छ। अब यसलाई सुचारु गर्नुपर्छ।’ तातोपानी नाका हरेक हिसावले बहुआयामिक महत्वको भएकाले यसलाई चाँडै सुचारु गराउन आफू लागि परेको उनको भनाइ थियो।
सापकोटाले भने, ‘तत्कालिन प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जाँदा उहाँले चिनियाँ राष्ट्रपतिसँग पनि यो नाका खुलाउनका लागि प्रयत्न गर्नुभएको थियो। त्यति बेला चिनियाँ राष्ट्रपतिले यो नाकाको बारेमा विशेष चासो देखाउनुभएको थियो। किनकी उहाँ बाल्यकालमा ल्हासामा बस्नुभएको रहेछ। उहाँलाई तातोपानीको बारेमा थाहा रहेछ। उहाँले यसमा मेरो पनि भावना जोडिएको छ भनेर भन्नुभएको थियो।’
नाका खोल्न चीनतर्फबाट युद्धस्तरमा काम भइरहेको तर नेपालतर्फबाट भने सुस्त गतिमा काम भएको उनको गुनासो छ। हिजोमात्रै आफूहरु मन्त्रीसहितको टोली लिएर स्थलगत भ्रमणमा गएको पनि उनले सुनाए। चिनियाँ प्रतिनिधिहरुले पनि तोकिएकै समयमा नाका खुल्ने विश्वास दिलाएको उनले जनाए।



लाेकपाटी न्यूज

