काठमाडौं, २७ चैत। निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) लाई राजनीतिक दलको रुपमा मान्यता दिएको छ।
पार्टीले बुधबार पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिएको हो। ‘अब राप्रपा (संयुक्त) विधिवत र औपचारिक रुपमा मान्यता प्राप्त राजनीतिक दलको रुपमा राष्ट्रिय राजनीतिमा क्रियाशिल रहेको छ’ पत्रकार सम्मेनलमा अध्यक्षद्वय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले भने।
पार्टीको निर्वाचन चिन्ह ‘हलो’ भएको पनि सो अवसरमा जानकारी दिइयो। यस्तै वैचारिक आधार राष्ट्रियता, प्रजातन्त्र र सम्र्वद्धनवादी उदारवाद र प्रगतिशील आधुनिकरण भएको भन्दै पार्टीले राजनीतिक शक्तिहरु बीचको वृहत् सहमतिमा साझा संस्थाको रुपमा राजसंस्थालाई ब्यूँताउने उद्घोष समेत गरेको छ।
‘देशमा विद्यमान सबै धर्म बीच समानता र पूर्ण धार्मिक स्वतन्त्रतालाई कायम राख्दै नेपाललाई सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र कायम गर्न मुलुकमा कायम रहेका क्रियाशिल सबै राजनीतिक शक्तिहरु बीचको वृहत् सहमतिमा साझा संस्थाको रुपमा दल विशेषभन्दा माथि रहने त्यो पुरानो संस्थालाई राष्ट्रप्रमुखको रुपमा स्थापित गर्न, संविधानतः गठित तल्लो तहका सबै इकाईहरुमा शक्तिको हस्तान्तरण, उदार अर्थतन्त्र, असंलग्न परराष्ट्रनीति, वर्तमान संविधानका केही परिर्वतनीय प्रावधान प्रतिको असहमतिलाई कायम राख्दै संविधानसंग सहकार्य र प्रतिवद्धता, बहुलवादी प्रजातन्त्रलाई व्यवहारमै समावेशी तुल्याउन र सम्पूर्ण जनतामा प्रणालीप्रति अपनत्व र स्वामित्वको व्यवहारिक अनुभूति दिलाउन निरन्तरता सहितको परिर्वतनको प्रतिवद्धता राप्रपा (संयुक्त) का मुख्य नीति र सिद्धान्त हुन्’ विज्ञप्तिमा भनिएको छ।
रेल, पानी जहाज र मेट्रो रेलको सपना बाँडेर तीनै तहका सरकारले जनतालाई धान्नै नसक्ने करको भारी बोकाएको राप्रपाको ठम्याइ छ। पार्टीले सरकार र सत्तारुढ दल भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै संगठित रुपमा संस्थागत भ्रष्टाचारलाई प्रोत्साहन दिने सरकार र सत्तारुढ दलले ‘सुखी नेपाली समृद्ध नेपाल’ को गफ लगाउनु भैंसीसामु विनबाजा बजाउनु जस्तै भएको टिप्पणी गरेको छ।
यस्तै सरकार प्रेस स्वतन्त्रतामाथि अघोषित रुपमा बन्देज लगाउन, न्यायालय देखि सबै अंग र निकायमा चरम दलीयकरण गर्न, प्रतिपक्षका शान्तिपूर्ण आन्दोलनमा दमन समेत गर्न लागिपरेको भन्दै विरोध समेत गरेको छ।



लाेकपाटी न्यूज

