काठमाडौं, २५ चैत। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वर्तमान सरकारले यो एक वर्षमा कसैले गर्न नसकेको काम गरेर इतिहास रचेको दाबी गरेका छन्।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री महासेठले यस्तो दाबी गरेका हुन्। उनले भने, ‘यो एक वर्षमा सरकारले कसैले नसोचेको काम गरेको छ । हामीले ऐतिहासिक काम गरेका छौं। सरकारको पहिलो वर्ष आधार वर्ष भएको छ।’
साक्षात्कारमा बोल्दै मन्त्री महासेठले मुलुक एकात्मक शासन व्यवस्थाबाट संघात्मक शासन व्यवस्थामा प्रवेश गरेकोले आफूहरुले सोहीअनुसार व्यवस्थापन गर्न समय खर्चिएको स्पष्ट पारे। उनले थपे, ‘तीन तहका सरकार निर्माण भएका छन्। तिनीहरुको लागि बजेट, साधनस्रोत, कर्मचारी र कार्यालयको व्यवस्थापन गर्यौं। योजनाहरु बाँडफाँड गरेका छौं।’
मन्त्री महासेठले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमै ८ सय किलोमिटर रोड पिच गरेको पनि दाबी गरे। उनले थपे, ‘६ लेन, चार लेन र २ लेनका ८ सय किलोमिटर सडक पिच भएको छ। सयभन्दा बढी पुलहरु बनेका छन्। ९ सय वटा त नयाँ ट्रयाकहरु खुलेको छ।’
सरकारले विकास निर्माणका कामलाई पनि द्रुत गतिमा अघि बढाएको उनले जनाए। उनले भने, ‘रेलमार्ग लगायतका कामहरु अघि बढेका छन्। पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणको काम सुरु भइसकेको छ।’ त्यस्तै, काठमाडौं–केरुङ र रक्सौल–काठमाडौं रेलमार्गका लागि प्रि–फिजिविलटीको काम सम्पन्न भएको उनले जनाए। उनले क्रस बोर्डर रेलवे निर्माणको काम भइरहेको बताए। यही आर्थिक वर्षभित्र जयनगर–जनकपुर रेल सञ्चालनमा आउनेपनि उनले स्पष्ट पारे।
समग्र यातायात क्षेत्रलाई व्यवस्थित गर्नका लागि यातायात प्राधिकरण गठन गर्ने तयारी भइसकेको पनि उनले जनाए। मन्त्री महासेठले पानीजहाज कार्यालयको व्यवस्थापनसँगै रजिष्ट्रार नियुक्ति गरिएको बताउँदै भने, ‘२÷३ चोटी सर्वे भइसकेको छ। गण्डकसम्म प्राविधिक टिम पुगेर फर्किएको छ।’
सरकारको कामको बारेमा पार्टीभित्र कुनै विरोध तथा असन्तुष्टि नरहेको पनि उनले स्पष्ट पारे। उनले भने, ‘इतिहासमा कसैले गर्न नसकेको काम यो सरकारले गरेको छ।’ महासेठले वर्तमान सरकार कुनै पनि कोणबाट असफल नभएको जिकिर गरे। यद्यपि, उनले विकास निर्माण र समृद्धि रातारात हुने कुरा नभएको भन्दै केही समय लाग्ने स्पष्ट पारे।
निर्माण कार्यमा गलत गर्नेहरुलाई सरकारले कारबाही गरिरहेको पनि उनले स्पष्ट पारे। उनले भने, ‘पप्पु कन्स्ट्रक्शनलाई नेपालगञ्जको पुल ठेक्कामा ५ करोड ७२ लाख जरिवाना गरिसकेका छौं। हामीले त्यो पुल बनाउने गरि उपाय पनि दिएका छौं। समस्याको समाधान गर्नुपर्छ। सरकार गम्भिर छ।’
त्यस्तै बर्दियाको जब्दीघाटको पुलबारे समस्याको समाधान गर्नेगरि आफूले कदम चालेको उनले स्पष्ट पारे। उनले भने, ‘हामीले स्विस र भारतीय विज्ञहरुलाई बोलाएका छौं। उहाँहरु यही चैतभित्र आउँदै हुनुहन्छ। हामी उहाँहरुको राय लिएर अघि बढ्छौं।’
काठमाडौं कालिमाटीको पुल पनि आफूले गत शुक्रबारमात्रै अवलोकन गरेको मन्त्री महासेठले सुनाए। उनले भने, ‘यो पुलमा प्राविधिक गल्ती भएको छ। जस्ताको त्यस्तै हामीलाई यो स्वीकार्य छैन। यसको सम्पूर्ण दोषी निर्माण व्यवसायी हो। कर्मचारीको दोष छैन। पटकपटक नबनाउन निर्देशन दिँदादिँदै पनि रातिराति बनाए।’
पुलमा रहेको ‘डिफेक्टिभ पोर्सन’ तोड्ने र त्यसको भुक्तानी निर्माण व्यवसायीबाट नै लिनेपनि उनले जानकारी दिए। बाग्मतीको पुल पनि आफूले भिजिट गरेको बताउँदै सरकारले यसमा विशेष निगरानी गरेको उनको भनाइ छ।
उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउनेगरि काम गरिरहेको विश्वास दिलाए। उनले भने, ‘हामी सबै बालबालिकालाई विद्यालय पठाउँछाैं। कसैलाई पनि शिक्षाबाट बञ्चित गराउँदैनौं।’ त्यस्तै उनले सरकारी चिकित्सकहरु सरकारले खटाएको ठाउँमा जानुपर्ने बताए। उनले भने, ‘सरकारले जे निर्णय गरेको छ, त्यो सही छ।’
फरक प्रसङ्गमा उनले निर्माण कार्यमा ढिलासुस्ती गर्नेलाई कारबाही आफ्नो मन्त्रालयले गर्ने बताउँदै यसमा गृह मन्त्रालयको सहयोगी भूमिका रहने स्पष्ट पारे। उनले भने, ‘यसमा कारबाही गर्ने अधिकार क्षेत्रमा गृहमन्त्रालय पर्दैन। करार ऐनअन्तर्गत हामीले कारबाही गर्ने हो। हामीले गृह मन्त्रालयलाई आग्रह गर्यौं भने उसले सहयोग गर्ने हो।’



लाेकपाटी न्यूज

