गाडीमा नक्कली परिचयपत्र देखाए ५ सय जरिवाना

Nepal Yatayat bus
फाइल तस्बिर
लाेकपाटी न्यूज

काठमाडौं, २५ चैत । नक्कली परिचय पत्र देखाएर गाडीमा भाडा छुट लिन खोज्नेलाई कारवाही हुने भएको छ ।
नक्कली वा म्याद गुज्रिएका परिचय पत्र देखाउने, गाडीभित्र फोहर गर्ने र अश्लील शब्द वा चित्र कोर्नेलाई पनि कारवाही गरिने भएको हो ।

सार्वजनिक यातायातका साधनबाट गरिने यात्रा सुरक्षित र व्यवस्थित भएको गुनासो आएपछि कानुन नै बनाएर त्यसलाई थप व्यवस्थित गर्ने प्रयासको थालनी काठमाडौं उपत्यकाबाट गरिएको हो । काठमाडौंमा चल्ने बस तथा माइक्रोमा स्कुल तथा कलेज पढ्ने विद्यार्थी, अशक्त, ज्येष्ठ नागरिकले परिचय पत्र देखाउँदा छुट पाउँछन् । तर, स्कुल(कलेज भर्ना नै नभएकाहरुले पनि नक्कली परिचय पत्र देखाएर छुटको सुविधा लिने गरेका छन् ।

तर, अब म्याद समाप्त भएको परिचय पत्र वा नक्कली परिचय पत्र प्रयोग गरी भाडामा छुट लिन खोज्ने यात्रुहरुलाई कारवाही हुने भएको छ । काठमाडौंको सार्वजनिक यातायातलाई व्यवस्थित गर्न काठमाडौं महानगरपालिकाले विधेयक नै बनाएको छ ।

काठमाडौं महानगरपालिकाको नगरसभाले पारित गरेको ‘सवारी तथा यातायात व्यवस्थापन बिधेयक, २०७५’ मा सार्वजनिक सवारीका साधन सञ्चालन गर्ने कम्पनी, चालक, सहचालक र यात्रुको कर्तव्यहरु तोकिएको छ ।जसअनुसार अब सार्वजनिक यातायातका लागि सरकारले तोकेको निर्धारित भाडा नतिरी यात्रा गरे वा गर्न खोजे पनि कारवाही भोग्नु पर्नेछ ।

टिकट नलिने वा कुनै शर्तमा निर्धारित दरभन्दा कम भाडा तिर्ने जस्ता कार्य गरे पनि कारवाही हुनेछ । यस्तै पुरानो टिकटहरु देखाएर यात्रा गर्न खोज्ने वा गर्नेमाथि पनि महानगरपालिकाले कारवाही गर्ने भएको छ । महिला, अशक्त, ज्येष्ठ नागरिकका लागि आरक्षित सिटमा बसे पनि जरिवाना तिर्नुपर्ने व्यवस्था विधेयकमा छ ।

यस्ता कसुर गर्नेहरुमाथि पहिलो पटक एक सय र दोस्रो पटक पाँच सय रुपैयाँसम्म जरिवाना हुने व्यवस्था विधेयकमा छ ।महानगरपालिकाको आइतबारको नगरसभाबाट पारित भएको विधेयक अबको १५ दिनभित्र प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित गरेपछि कार्यान्वयनमा आउने हानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए ।

यसले काठमाडौं उपत्यकाको सार्वजनिक यातायातको बेथिती अन्त्य हुने महानगरपालिकाको विश्वास छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्