काठमाडौं। युवा साहित्यकार दिनेश घिमिरेको तेस्रो कविता कविता संङ्ग्रह ‘हिमाल मेरो देश’को विमोचन गरिएको छ ।
दोस्रो क्रान्ति दिवस नेपाली साहित्यले आइतबार राजधानीमा गरेको क्रान्ति नक्षेत्र–२०७५ तथा बहुभाषिक कविगोष्ठी, रक्तदान कार्यक्रम, वातावरण तथा विज्ञान प्रदर्शनी एवम् साँस्कृतिक कार्यक्रममा उक्त कविता संङ्ग्रहको पूर्वमन्त्री कृपासुर शेर्पा र प्रदेशसभा– ३ का सांसद् रामेश्वर फुयाँल र साहित्यकार जगन्नथा देवकोटाले संयुक्त रूपमा गरेका हुन्। उक्त संङ्ग्रहमा ४८ वटा कविताहरू छन्।
सङ्ग्रहको समीक्षा गर्दे साहित्यकार प्रयागराज भट्टराई ‘वाशिष्ठ’ले संङ्ग्रहको शीर्षकले, साजसज्जाले कविताहरूको गाम्भीर्यतालाई प्रस्ट्याएको बताए। सङ्ग्रहभित्र शिक्षा, समाज सेवा, समाजका विभिन्न अङ्गहरूको वर्णन, विश्लेषण र राजनीतिका सकारात्मक र नकारात्मक पक्षप्रति व्यङ्ग्य गरिएका कविताहरू रहेको उनले बताए।
उनले भने, ‘कृतिभित्र शिक्षा छ। राजनीतिको सकारात्मक पक्ष र नकारात्मक पक्षप्रति व्यङ्य छ। समाज सेवा र समाजका विभिन्न अङ्गहरूको पनि यसमा वर्णन, विश्लेषण रहेको छ।’ कविताहरू शास्त्रीय छन्दमा रहेको बताउँदै भट्टराईले नेपाली साहित्यमा लोकप्रिय गजलको लयमा पनि कविता आधारित रहेको बताए।
उनले भने, ‘संङ्ग्रहमा शास्त्रीय छन्दमा कविताहरू रहेका छन्। नेपाली साहित्यमा लोकप्रिय बनेको गजलका जुन लय छ, त्यसमा आधारित पनि छ।’ कवितामार्फत् कविले असल बनेर देशको सेवा गर्न उत्प्रेरित गरेको उनको भनाइ छ।
‘शिक्षा लिनका लागि जो लालयित छन्, देश निर्माणका लागि अगाडि जुटेका छन्, समाजसेवामा जुटेका छन्, धर्मसंस्कृतिको सेवामा जुटेका छन्, यी सबैलाई लेखकले असल बनेर नेपाल देशको सेवा गर्न उत्प्रेरित गर्नुभएको छ’ साहित्यकार भट्टराईले भने।
भट्टराईले भने, ‘कविताहरूमा भावनाको निखार छ। भावनाको तिखार छ।’ भावनाको मश्रिल अनुभूति भएको बताउँदै भट्टराईले कविको कलमले, अनुभूतिले देशलाई उँचो बनाउन मद्दत पुगेको बताए। बालबालिकाहरू, वृद्धहरू, युवाहरूले देशलाई माया गरेर अगाडि बढ्नुपर्छ भन्ने उद्देश्यले नै ‘हिमालको देश मेरो’ कविता संङ्ग्रहको रहेको बताए।
त्यस्तै अर्का समीक्षक रमेश शुभेच्छुले फरक शैलीका कविताहरूले कविले क्षमता प्रदर्शन गरेको बताए। उनले भने, ‘१४ वटा बाल कविताहरू छन्। ४ वटा प्रौढ कविताहरू छन्। २८ वटा गीति कविताहरू छन्। यी तिनवटै शैलीका कवितामा कविले क्षमता प्रदर्शन गर्नुभएको छ।’
कवि प्राध्यापक भएकाले बाल कविताहरूमा बालबालिकालाई नैतिक उपदेशको पक्षलाई बढी महत्त्व दिएको समीक्षक शुभेच्छुले बताए। ‘देशभक्तिको पक्ष बालबच्चालाई सिकाउने प्रयत्न पनि गर्नुभएको छ। सतचरित्र निर्माण गर्ने पक्षलाई उहाँले महत्त्व दिनुभएको छ शुभेच्छुले भने, ‘केटाकेटी र बुढाबुढीमा विभेद राख्नुहुँदैन, ठूलो र सानो जात हुँदैन भन्ने विभेदको अन्त्यको चाहना कविले राख्नुभएको छ।’
देशमा भएका साना–साना घटनाहरूलाई कवितामा समेट्ने प्रयत्न गरेको शुभेच्छुको भनाइ छ। गीति कवितामा भन्दा अन्य कवितामा मानवताको भावना रहेको रहेको बताउँदै शुभेच्छुले प्रेम प्रणेयका संयोगात्मक र वियोगात्मक पक्षहरू पनि कवितामा रहेको बताए।
घिमिरेका भोजपरे खिचडी (कवितासंङ्ग्रह) २०६७, मेरा जीवनका चरणहरू, भाग–१ (खण्डकाव्य) २०७०, फूल र म (कवितासंङ्ग्रह) २०७०, शालीकराम (शोककाव्य) २०७० प्रकाशित भएका छन्। उनका कृतिमा हिमाल मेरो देश (कवितासंङ्ग्रह) २०७६ पनि थपिएको छ। उक्त कविता संङ्ग्रहलाई उर्वर साहित्य समाजले प्रकाशनमा ल्याएको हो।



लाेकपाटी न्यूज

