आजको मौसम : सचेत रहन सुझाव

mausam-1
लाेकपाटी न्यूज

काठमाडौं, २४ चैत। देशका धेरै ठाउँको मौसम बदली भएको छ। आइतबार पनि देशभर मौसम बदली हुने महाशाखाले जनाएको छ।

मौसमविद् विभूति पोखरेलले काठमाडौंको मौसममा केही सुधार भएपनि अझै केही दिन हल्कादेखि मध्यमखालको वर्षा भइराख्ने जानकारी दिइन् । नेपाल नजिकै बनेको न्यूनचापीय रेखा, अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा, पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले शनिबार बिहानदेखि नै देशभरको मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र हावाहुरी चलेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमविद् पोखरेलका अनुसार सतहमा पूर्वी वायु र माथिल्लो वायुमन्डलमा पश्चिमी वायु चलेकाले देशका अधिकांश भागमा वर्षा हुनसक्ने जानकारी दिइन्। उनले आउँदो सोमबारसम्म देशका अधिकांश स्थानको मौसम यसैगरी प्रभावित भइरहने बताइन्।

पूर्वमा बनेको न्यूनचापीय रेखा र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले हावाहुरी र मध्यम वर्षा भएको मौसमविद्हरुको भनाइ छ। मार्च महिनाबाट प्रि–मनसुन सुरु हुने भएकाले पनि अहिले काठमाडौं उपत्यकालगायत देशभर नै बदली भइ पानी परेको मौसमविद् पोखरेल बताउँछिन्।

विशेषगरी पूर्वी तथा मध्य तराईमा अझै केही दिन हावाहुरीसहितको वर्षा हुने भएकाले सचेत रहनसमेत महाशाखाले सुझाव दिएको छ। पश्चिमी वायु, पूर्वमा बनेको न्यूनचापीय क्षेत्र, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त यो वायु नेपालमा अझै केही दिन रहनसक्ने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्