यि हुन् मानसिक रोगका लक्षण

Mental
लाेकपाटी न्यूज

काठमाडौं। चाँडै थाक्नु र एक्कासि धेरै फुर्ती आउनु मानसिक रोगको लक्षण हुन सक्ने काठमाडौं मेडिकल कलेजकी मनोचिकित्सक डा.जया रेग्मीले बताएकी छिन्।

डा.रेग्मीका अनुसार मानसिक रोगी चिन्न व्यक्तिको बोलीचाली, व्यवहार र कार्यतालिकामा परिवर्तन भएको छ कि छैन भन्ने कुरा हेर्नुपर्ने हुन्छ। कार्यतालिकामा परिवर्तन भनेको खाने, सुत्नेलगायत दैनिक क्रियाकलापको समय परिवर्तन वा गोलमाल हुनु हो। मानसिक रोगीको काम गराइमा पनि पहिलेको भन्दा धेरै कम वा धेरै समय लाग्ने भएको हुन सक्छ। पहिलेको भन्दा चाँडै थाक्नु र एक्कासि धेरै फुर्ती आउनु मानसिक रोगको लक्षण हुन सक्छ।

यस्ता लक्षण परिवारका सदस्यले पनि थाहा पाउन सक्छन्।  त्यसबाहेक निराश हुनु, आत्तिनु र व्यवहारमा परिवर्तन हुनु पनि मानसिक रोगका लक्षण हुन्। कतिपय बिरामीलाई विस्तृत रूपमा कुरा नगरेसम्म थाहा नहुन सक्छ। पहिला पढ्नेबित्तिकै याद हुने व्यक्तिलाई धेरै नै मेहनत गर्दा पनि याद नहुने हुन सक्छ। यस्तो समस्या आफैलाई मात्र थाहा हुन्छ।सामान्यतया मानसिक रोगमा देखिने यस्ता लक्षण रोगी आफैलाई मात्र थाहा हुन्छ। अरूले थाहा पाउँदासम्म रोगले कडा रूप लिने हुन्छ।

डा.रेग्मिका अनुसार मानसिक रोगकालाई मुख्यतया बायोलोजिकल, मनोवैज्ञानिक र सामाजिक गरी तीन तहमा राखिने गरिन्छ। बायोलोजिकल भनेको हाम्रो शरीरमा भएको न्यूरो ट्रान्समिटर, हर्मोन र केमिकलसँग सम्बन्धित हुन्छ। वंशाणुगत कारणले पनि मानसिक रोग लाग्न सक्छ। केमिकल तलमाथि भयो भने पनि मानसिक रोग लाग्छ। मानिसलाई एकदमै तनाव भएको छ र कहीँबाट पनि साथ र सहयोग पाइएन भने मानसिक रोग लाग्ने सम्भावना बढ्न सक्छ।

नेपालमा भर्खरै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यससम्बन्धी अध्ययन अनुसन्धान गरिरहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार समाजका १५ देखि २० प्रतिशत मानिसमा मनोरोग हुन्छ। यसको संख्या बढ्दै छ । जनयुद्ध र भुइँचालोपछि मानिसमा मानसिक रोग अझ बढेको पाइएको छ।

मानसिक रोग लागे नलागेको आफैले पनि परीक्षण गरेर हेर्न सकिन्छ। कम्तीमा वर्षको १ पटक मनोचिकित्सकसँग परामर्श गरेको खण्डमा पनि मानसिक रोग लागे नलागेको थाहा पाउन सकिन्छ । समयमा सुत्ने, नशालु पदार्थ नखाने, तनाव व्यवस्थापन गर्ने र शारीरिक व्यायाम गर्ने गरेको खण्डमा मानसिक रोग लाग्न पाउँदैन। सहयोगी भावनाको विकास गरेमा पनि मानसिक रोग लाग्ने सम्भावना कम हुन्छ। तनावमा रहेको मानिसले थेरापी र काउन्सिल पनि गर्नुपर्ने हुन्छ। 

काठमाडौं मेडिकल कलेजमा कार्यरत डा.रेग्मीका अनुसार यो रोग क्षेत्रअनुसार लाग्दैन। जुन उमेर समूहलाई पनि लाग्न सक्छ। विशेष गरेर तनावले असर गर्ने मानिसलाई समस्या हुने गर्दछ। तर, नशालु पदार्थ सेवन गर्ने मानिस मानसिक रोगी हुन सक्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्