काठमाडौं, २२ चैत। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बिहीबार फ्रान्सको लियोन प्रस्थान गरेका छन्। एनसिबी नेपालका प्रमुखसमेत रहेका खनाल चैत २६ देखि २८ गतेसम्म फ्रान्समा सञ्चालन हुने इन्टरपोलको १५ औं एनसिबीका प्रमूखहरुको सम्मेलनमा सहभागी हुन लियोन प्रस्थान गरेका हुन्।
सम्मेलनमा सुरक्षा प्रमुखहरुसँगको अन्तरक्रियाबाट एनसिबीको कार्यशैलीमा थप प्रभावकारिता ल्याउन अन्तर्राष्ट्रिय क्षेत्रमा विकसित विभिन्न नवीन प्रविधि र अपराध नियन्त्रण तथा सुरक्षा सम्बन्धी नयाँ रणनीतिहरुमा सहकार्य गर्ने सम्बन्धमा छलफल हुनेछ।
विकसित नयाँ प्रविधिमा साक्षात्कार एवं अन्तर्राष्ट्रियस्तरमा व्यावसायिक सम्बन्ध विस्तार गर्दै भावी रणनीति तय गरी कार्यान्वयनमा लैजान विभिन्न सदस्य राष्ट्रहरुबीच द्विपक्षीय छलफलका साथै एसिया तथा दक्षिण प्यासिफिक क्षेत्रीय गोलमेच छलफलको कार्यक्रमसमेत रहेको छ।
कार्यक्रममा प्रविधि एवं प्राविधिक क्षेत्रमा भएको परिवर्तन, आतंकवाद र आतंककारी क्रियाकलाप, साइबर अपराध, डार्क–नेट, क्रिप्टो करेन्सिज, डिएनए, फिङ्गरप्रिन्ट डाटावेश तथा फेसियल रिकगनिशन लगायतका विषय र ती विषयका चुनौती तथा समाधानका पक्षमा समेत सम्मेलनमा विशेष छलफल हुने कार्यक्रम तय भएको छ।
इन्टरपोल महासचिवालयको आयोजनामा प्रत्येक वर्ष उक्त सम्मेलन सञ्चालन हुने गर्दछ। यस वर्षको उक्त सम्मेलनमा इन्टरपोलका सम्पूर्ण १ सय ९४ सदस्य राष्ट्रका प्रतिनिधिहरु सहभागी हुने कार्यक्रम रहेको छ।
महानिरीक्षक खनालको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने प्रहरी स्रोतले जनाएको छ।



लाेकपाटी न्यूज

