चितवन, २१ चैत। माडी नगरपालिकाले किसानलाई दूधमा प्रतिलिटर रु तीन अनुदान दिन शुरु गरेको छ।
चालू आर्थिक वर्षको साउनयता दुग्ध सहकारीमा बिक्री गरेको दूधको चौमासिक रुपमा कृषकलाई अनुदान दिन शुरु गरिएको हो। नगरपालिकाका प्रमुख ठाकुर ढकालका अनुसार पहिलो चौमासिकको रु १८ लाख ६६ हजार अनुदान किसानलाई वितरण गरी सकिएको छ। दोस्रो चौमासिकको तथ्याङ्क सङ्कलन भइरहेको उनले बताए। हरेक दिन छ हजार लिटर हाराहारी दूध सङ्कलन हुने गर्दछ। ढकालले कृषकलाई उत्प्रेरित गर्दै दैनिक १० हजार लिटर दूध पुर्याउने लक्ष्य रहेको बताए।
माडीमा साना ठूला गरी १७२ कृषि फार्म दर्ता भएका छन्। घरमा गाई भैँसी पालेर सहकारीलाई दूध बिक्री गर्ने कृषकको सङ्ख्या एक हजारभन्दा बढी रहेको उनले बताए। उन्नत जातका गाई भैँसी पाल्न ब्याज सहुलियत माडी नगरपालिकाले उन्नत जातका गाई भैँसी पाल्ने कृषकलाई चार प्रतिशतमा ऋण प्रवाह शुरु गरेको छ।
स्थानीय चार सहकारीसँग सम्झौता गरी अपुग रकम नगरपालिकाले भुक्तानी गर्ने भएको छ। ढकालका अनुसार सहकारीले नौ प्रतिशतमा कृषकलाई ऋण प्रवाह गर्दछ। कृषकले चार प्रतिशत र नगरपालिकाले पाँच प्रतिशत सहकारीलाई भुक्तानी गर्ने व्यवस्था मिलाएको छ। शुरुमा एक जना कृषकलाई रु पाँच लाखसम्म यस्तो ऋण सहजरुपमा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । उन्नत जातका गाई, बाख्रा पाल्न चाहने कृषकलाई ऋण थप्न सकिने ढकालले बताए।
सो नगरपालिकाले कृषि बीमा गर्दा कृषकलाई २० प्रतिशत अनुदान दिन शुरु गरेको छ। कृषि बीमामा ७५ प्रतिशत सरकारले अनुदान दिँदै आएको छ। बाँकी २५ प्रतिशतमा २० प्रतिशत नगरपालिका र पाँच प्रतिशत कृषकले ब्यहोर्ने व्यवस्था मिलाइएको नगर प्रमुख ढकालले बताए। यसबाट कृषि क्षेत्रमा हुनसक्ने जोखिमबाट कृषक पूर्णरुपमा सुरक्षित हुने उनले बताए। नगरपालिकाले माछा पोखरी खन्न प्रतिकठ्ठा रु १० हजार अनुदान दिन शुरु गरेको छ।



लाेकपाटी न्यूज

