काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धर्मका नाममा ढुंगा पूज्दै हिँड्ने परम्परा विज्ञानसम्मत नभएको बताएका छन्। पार्टी मुख्यालय पेरिसडाँडामा आज राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित एक कार्यक्रममा उनले मानव जातिको उन्मुक्तिको महाअभियान विज्ञानबाट मात्र सम्भव हुने बताए। तर, आफूले धर्मको विरोध भने नगरेको बताए।
‘हामी कहाँ ३३ कोटी देवता हुन्छन्, मान्छेलाई लात्ताले हान्दै हिँड्ने, ढुंगालाई पूजा गरेर हिँड्ने छ संस्कार छ। मैले अपमान नगरी भनेको मान्छेलाई, गरिबलाई पूजा गर्दै हिँडे कति राम्रो हुन्थ्यो। उनीहरूलाई राहत दिने कुरा गरे कति राम्रो हुन्थ्यो, हाम्रो समाजमा राम्रो डिभेट गर्नुपर्ने विषय छ,’ प्रचण्डले भने, ‘मैले फेरि धर्मलाई नेगेटिभ भन्या होइन है फेरी। चुनावको बेला छ, यसो भन्यो भनेर फेरी प्रचण्डले भनेपछि घट्ला भन्ने डर पनि छ, छन् त।’
उनले दक्षिण एसियामा धर्मशास्त्रले सन्तोष लिन सिकाउने र भौतिकवादी विज्ञानले असन्तुष्ट हुनु भएको यो किन कसरी भयो भनेर खोजी हुने बताए। विश्व कम्युनिष्ट आन्दोलन र मार्क्सवाद विज्ञानमा आधारित भएको उनले दाबी गरे। ‘प्रकृतिको विकास कसरी भयो ? समाजको विकास कसरी भयो ? मानिसहरूको चिन्तन/चेतनाको विकास कसरी भयो?,’ प्रचण्डले भने, ‘मार्क्सवादले सबभन्दा बढी अनुसन्धान गरेको, आविष्कार गरेको, खोज गरेको, साधना गरेको मेहनत गरेर पत्ता लगाएको कुरा त्यही नै हो।’
उनले विज्ञान प्रविधिलाई जसले राम्रोसँग आत्मसाथ गर्न सकेका राष्ट्र विकसित भएको बताए। विज्ञान प्रविधिलाई आत्मसाथ नगर्ने राष्ट्रको विकास हुन नसक्ने उनको भनाई छ। प्रचण्डले विज्ञान प्रविधिले समाजवादतिर लैजाने बताए। ‘हामी त्यसलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद भनेर बुझ्छौ। त्यसैबाट नै क्रान्तिको, परिवर्तनको, स्वतन्त्रताको, मानव जातीको उन्मुक्तिको अभियान सुरु भएको हो,’ उनले भने।



लोकपाटी न्यूज

