भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, राष्ट्रिय सहकारी विकास वोर्ड, राष्ट्रिय सहकारी महासंघले मंगलबार विशेष कार्यक्रमको आयोजना गरी काठमाडौंमा ६२ औं राष्ट्रिय सहकारी दिवस कार्यक्रम भव्य रूपमा मनाएका हुन्।
दिगो विकास लक्ष्य प्राप्तिका लागी सहकारी भन्ने मूल नाराका साथ यसवर्ष सरकारी स्तरबाटै राष्ट्रिय तहमा सहकारी दिवस भव्य रूपमा मनाइएको हो। त्यस अवसरमा कार्यक्रमको बारेमा जानकारी दिँदै सहकारी विकास वोर्डका रजिष्टार डा. टोकराज पाण्डेले सहकारी आन्दोलनबारे चर्चा गरेका थिए।
उनले २०१३ साल चैत्र २० गते चितवनबाट बखान सहकारी संस्था दर्ता भएर सञ्चालनमा आएपछि विधिवत रूपमा सहकारी आन्दोलन नेपालमा शुरू भएको जानकारी दिए। रजिष्टार पाण्डेले हालसम्म ३५ हजार ५ सय १२ सहकारी संस्थाहरू क्रियाशील रहेको जानकारी दिए।
यसैबीच त्यस अवसरमा सहकारी अभियानलाई विभिन्न क्षेत्रबाट योगदान दिने विभिन्न व्यक्ति तथा संस्थालाई पुरस्कृत गरिएको छ। मन्त्रालयले सहकारी अभियान नेपालमा स्थापना भएदेखि हालसम्म विभिन्न ढंगलाई अभियानलाई योगदान दिएको भन्दै उनीहरूलाई नगद तथा सम्मानपत्रले पुरस्कृत गरेको छ।
जसअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी अभियन्तातर्फ राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडाल, महासंघकै पूर्व अध्यक्ष दिपकप्रसाद बास्कोटा र नेपाल कृषि सहकारी संघका केन्द्रीय अध्यक्ष खेमप्रसाद पाठकलाई नगद एक लाख ५० हजार रूपैयाँसहित पुरस्कृत गरेको हो।
यसैगरी त्यस अवसरमा सहकारी संस्थातर्फ सातै प्रदेशका एकरएक वटा उत्कृष्ट सहकारीलाई नगद २ लाख रूपैयाँ र सम्मानपत्रले पुरस्कृत गरेको छ। जसअनुसार प्रदेश नम्बर १ बाट नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. काँकरभित्ता झापा, प्रदेश नम्बर २ बाट साना किसान कृषि सहकारी संस्था धनुषा रघुनाथपुर, प्रदेश नम्बर ३ बाट जन सचेतन बचत तथा ऋण सहकारी संस्था लि. दोलखा रहेका छन्।
गण्डकी प्रदेशबाट जिल्ला दुग्ध उत्पादन सहकारी संघ बाग्लुङ, प्रदेश नम्बर ५ बाट सिको बचत तथा ऋण सहकारी संस्था लि. बर्दिया, कर्णाली प्रदेशबाट साना किसान कृषि सहकारी संस्था लाटिकोइली सुर्खेत र सुदुरपश्चिम प्रदेशबाट नवजीवन सहकारी संस्था लि. कैलाली पुरस्कृत भएका छन्।
यसैगरि त्यस अवसरमा दुई जना पत्रकारलाई नगद ५० हजार रूपैयाँ र सम्मानपत्रले पुरस्कृत गरिएको छ। त्यस अवसरमा कारोबार दैनिकमा कार्यरत यादव हुमागाई र नयाँ पत्रिका दैनिकमा कार्यरत पत्रकार मुना कुवरलाई पुरस्कृत गरिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कृत सबैलाई पुरस्कार बितरण गरे।



लाेकपाटी न्यूज

