रुपन्देही- २ मा ‘गठबन्धन’ भर्सेज ‘पौडेल’ : कस्तो होला प्रतिष्पर्धा ?

Bishnu_Paudel
लोकपाटी न्यूज

काठमाडौं। निर्वाचनको समयमा सधैँ चर्चा र चासोमा रहने क्षेत्रमध्येको एक हो- रुपन्देही क्षेत्र नम्बर- २। चुनाव नजिकिएसँगै यस पटक पनि रुपन्देही २ ले देशकै ध्यान खिचिरहेको छ। किनभने यो नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको चुनावी क्षेत्र हो। उनीसँग चुनावमा भिड्न अहिले दलका नेतादेखि स्वतन्त्र व्यक्तिहरूसमेत तँछाड-मछाड गरेर लागिपरेका छन्।

पौडेल लगातारका तीन वटा चुनावमा भारी मतान्तरले विजयी भइसकेका छन्। उनी चौथो पटक यहाँबाट उम्मेदवार बन्दैछन्। एमालेबाट उनको नाम सर्वसम्मत रुपमा सिफारिस भइसकेको छ। उनीसँग चुनावी मैदानमा भिड्न नेकपा माओवादी केन्द्रले पनि दलको तर्फबाट विनोद पहाडीलाई सर्वसम्मत रुपमा अगाडि सारेको छ। मुख्यगरि माओवादी केन्द्रले उक्त क्षेत्रमा आफ्नो दाबी प्रस्तुत गरिरहेको छ।

यसैगरी, नेकपा एसबाट राजु गुरुङको नाम एकल रुपमा सिफारिस भएको छ। यता, काँग्रेसको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणसहित युवराज गिरी, गोकर्ण पौडेल, कृष्ण पोखरेल सिफारिस भएका छन्। गठबन्धन दलमा कसले यहाँको टिकट पाउने भन्ने रस्साकस्सी चलेको छ। पाँच दलीय गठबन्धनले सिट बाँडफाँटको विषय टुंग्याउन सकेको छैन। यद्यपि यस पटक पौडेललाई यहाँ जित निकाल्न विगतको जस्तो सहज भने हुने छैन।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा दलहरूले प्राप्त गरेको मत परिणामले पनि उनको जित त्यति सहज नहुने देखाउँछ। पार्टी विभाजन र स्थानीय निर्वाचनमा प्राप्त मत परिणाम गठबन्धनको पक्षमा बढी रहनुले उनको अगाडि जित निकाल्न चुनौती छ। तर, लगातारका तीन पटक भारी मतान्तरले विजयी भइसकेका नेता पौडेलले यस पटक पनि सहजै जित निकाल्नेमा एमाले नेताहरू विश्वस्त छन्।

उनी रुपन्देही २ बाट अहिले प्रतिनिधिसभा सदस्य हुन्। २०७४ मा पौडेलले २२ हजार ६३ मतान्तरले जित निकालेका थिए। उनले ४४ हजार ०२ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका युवराज गिरीले २१ हजार ९४६ मत ल्याएका थिए।

तर, गत वैशाखमा सम्पन्न स्थानीय चुनावको मत परिणाम अनुसार रुपन्देही २ मा सबैभन्दा ठूलो पार्टी नेपाली काँग्रेस हो। यहाँ काँग्रेसको ३४ हजार ९५९, एमालेको ३३ हजार १८७, राप्रपाको ३ हजार ९२०, माओवादीको ३ हजार १८८, नेकपा एसको १ हजार ३८२, र जसपाको १८३ मत छ। यहाँ पाँच दलीय गठबन्धनको मत ३९ हजार ७१२ छ। एमाले र राप्रपाको मत जोड्दा ३७ हजार १०७ मत हुन्छ। गठबन्धन यो निर्वाचन क्षेत्रमा २ हजार ६०५ मतले अगाडि देखिन्छ।

पौडेल २०६४ को पहिलो संविधानसभा र २०७० को दोस्रो संविधानसभा र २०७४ सालमा यही क्षेत्रबाट निर्वाचित भइसकेका छन्। मंसिर ४ मा सम्पन्न हुने निर्वाचनमा संसदमा प्रतिनिधित्व गर्ने दलमध्ये एमाले एकतिर र अन्य दल अर्कोतिर रहने देखिन्छन्। यता एमालेले पाँच दलीय गठबन्धनविरुद्ध जित निकाल्न सक्ने बलियो उम्मेदवारभित्र पौडेललाई राखेको छ। रुपन्देहीमा धेरै बजेट ल्याउन र यहाँको विकासमा ठूलो भूमिका निर्वाचन गरेको भन्दै चर्चामा रहने पौडेल र गठबन्धनका साझा उम्मेदावरबीच हुनसक्ने प्रतिष्पर्धाले सबैको ध्यान खिचिरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्