देशको नेतृत्व गर्न बाँकी छ, राजनीतिबाट अहिल्यै उन्मुख हुन्न : पौडेल

लोकपाटी न्यूज

दमौली। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिनुपर्ने बताएका छन्। तनहुँमा आयोजित एक कार्यक्रममा उनले संविधानमा नै समाजवाद उन्मुख लेखिएकाले शिक्षा र स्वास्थ्यको जिम्मेवारी सरकारले लिनुपर्ने बताए।

देशलाई काम गर्ने जनशक्ति आवश्यक भएको उल्लेख गर्दै नेता पौडेलले सीपवान नागरिक तयार गर्ने खालको शिक्षा अहिलेको आवश्यकता रहेको औँल्याए। आदिकवि भानुभक्त क्याम्पसलाई प्राविधिक क्याम्पसको रुपमा रूपान्तरण गर्नुपर्ने उनको भनाइ थियो। उनले भने, ‘सीपवान नागरिक उत्पादन गर्नुपर्छ, त्यसका लागि प्राविधिक शिक्षाको खाँचो छ। आदिकवि क्याम्पस अब उक्त बाटोमा अगाडि बढ्नुपर्छ।’

वरिष्ठ नेता पौडेलले मुलुकको नेतृत्व गर्ने इच्छाशक्ति आफूमा रहेकाले अहिल्यै सक्रिय राजनीतिबाट विश्राम नलिने बताए। मुलुकलाई सामाजिक न्याय, जनतालाई सुरक्षा, सुशासन दिनका लागि आफ्नो भूमिका देशले खोजेको उनको भनाई थियो। ‘देशमा सुशासन, सामाजिक न्याय तथा समाजवादको लागि राजनीतिमा लागेको हुँ। त्यो पूरा गर्न कार्यकारी बन्न बाँकी छ,’ उनले भने, ‘सक्रिय राजनीतिबाट म अहिल्यै उन्मुख हुन्न।’

पौडेलले सिंगै देशलाई एकै पटक सुशासन दिन नसकेपछि सुशासनको जग बसाल्ने बताए। उनले भने, ‘देशलाई कार्यकारी भूमिका दिन बाँकी छ भनेर आँट गरेर म सक्रिय राजनीतिमा छु, देशको उन्नति र प्रगति भविष्यमा कसरी गर्न सक्छौं भन्ने दूरदृष्टी पनि म सँग छ। कार्यकारी भूमिका खेलेर सुशासन दिने सामर्थ्य पनि छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्