काठमाडौं- ३ बाट महेश्वर फुयाँल सिफारिस, को हुन् उनी ?

MaheSwor_Phuyal
लोकपाटी न्यूज

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनको लागि काठमाडौं निर्वाचन क्षेत्र-३ बाट नेकपा माओवादी केन्द्र बागमती प्रदेशको सचिवालय सदस्य तथा युवा नेता महेश्वर फुयाँल सिफारिस भएका छन्। शुक्रबार बसेको निर्वाचन क्षेत्रीय समन्वय समितिको बैठकले फुयाँलको नाम सर्वसहमतिमा सिफारिस गरेको छ। उनी नागरिकको विश्वास जितेका स्थापित युवा नेता हुन्।

दलहरूले युवालाई अवसर नदिइरहेको बेला माओवादी केन्द्रले फुयाँललाई पार्टीको तर्फबाट उम्मेदवार बनाउन सिफारिस गरेको छ। मंसिर ४ गते सम्पन्न हुने निर्वाचनको लागि उनको नाम सिफारिस भएसँगै यस क्षेत्रका युवाहरू उत्साहित छन्। युवा नेता फुयाँलले नागरिकको चाहना अनुरूप आफ्नो नाम सिफारिस भएको प्रतिक्रिया दिए। उनले युवा नेताहरूलाई विश्वास गरेर अवसर दिँदा नागरिकको विश्वास जित्न सकिन्छ भन्ने मान्यता स्थापित हुने पनि बताए।

‘पछिल्लो समय युवा नेतृत्व चाहिन्छ भन्ने आवाज उठेका छन्। पुराना उम्मेदवारले युवाको चाहना बुझ्न सकेनन् भन्ने गुनासा छन्। पार्टीले सर्वसहमतिमा एकल रुपमा मेरो नामा सिफारिस गरेको छ,’ उनले भने, ‘यदि हामी गठबन्धनभित्र एकमत हुन सक्यौ र गठबन्धनका सहयात्री दलहरूका साथीहरूबिच विश्वासको वातावरण बने यहाँ चुनाव जित्न सक्छौं। युवाहरूको मनोविज्ञानको प्रतिनिधित्व गर्न सक्ने पात्र महेश्वर फुयाँल हो भन्ने वातावरण तय हुन्छ। चुनाव जित्न गाह्रो छैन।’

फुयाँलले प्रतिस्पर्धी दल नेकपा एमालेले पुरानै उम्मेदवारलाई उठाउने तयारी गरेको र युवा उम्मेदवार जनचाहना भएकाले पनि यहाँ आफ्नो जित सुनिश्चित हुनसक्ने विश्वास व्यक्त गरे। काठमाडौंमा पार्टीको तर्फबाट स्थापित युवा भएकोले गठबन्धनको तर्फबाट पनि आफू सर्वसम्मत उम्मेदवार बन्ने उनको विश्वास छ। उनले गठबन्धनमा रहेका दल, युवा र स्वतन्त्र राजनीति समूह र व्यक्तिहरूको समर्थन पनि आफूले हुने उनको भनाइ छ। त्यसको लागि समन्वय गर्न सक्ने क्षमता आफूसँग रहेको उनले बताए।

सिट बाँडफाँट गर्दा काठमाडौं जिल्लामा आफ्नो क्षेत्र माओवादी केन्द्रले पाउने सम्भावित क्षेत्र रहेको उनले बताए। फुयाँलले भने, ‘यो क्षेत्र नेकपा एमालेले जितेको क्षेत्र हो। काठमाडौंमा पार्टीले पाउने सम्भावित क्षेत्रका रुपमा यो क्षेत्र पर्छ। गठबन्धन भएर भोलि टिकट पाउने अवस्था बने यहाँ हामी जित्छौं। काठमाडौंमा हार्ने मात्र होइन, सक्षम युवालाई उठाउँदा जित्न सकिन्छ भन्ने सन्देश पनि दिन्छौं।’

यदि आफूले टिकट पाएर जिते भोलि राष्ट्रिय राजनीतिमा युवाहरूको आवाज बलियो उनको दाबी छ। यसले युवाहरूको लागि थप अवसर सिर्जना गर्ने उनको भनाई छ। ‘मैले अवसर पाए भने भोलि राष्ट्रिय राजनीतिको केन्द्र संसदमा युवाहरूको प्रतिनिधित्व हुन्छ। युवाहरूका मुद्दाहरू त्यहाँ उठ्नेछन्। साथै, पार्टीले काठमाडौंमा निरन्तर पराजय भोग्नु परेको पीडामा केही राहत हुने गरी काम गर्छु। काठमाडौंमा पनि जित्न सक्छौं भन्ने मान्यता स्थापित गर्न लागिपर्छु।’

स्थानीय तहको निर्वाचनमा नागरिकले अब युवा नेतृत्वको आवश्यकता महसुस गरेर देखिने गरी अभिमत प्रकट गरेको उनको भनाई छ। फुयाँलले स्थानीय तहमा गठबन्धनबारे निर्णय लिन ढिलाइ हुँदा मतदातामा अन्यौलता सिर्जना गरेको पनि बताए। कहीँ गठबन्धन हुने, कहीँ नहुने अवस्था सिर्जना भएपछि अन्यौलता सिर्जना भएको उनको भनाइ थियो। तर अहिले संविधानको रक्षाका निम्ति बनेको गठबन्धनको मर्म अनुरूप केन्द्रदेखि गाउँसम्म माहौल बन्ने भएकोले गठबन्धन विजयी हुनेमा शंका नहरेको उनले बताए।

‘प्रतिगमन विरुद्धको पाँच दलीय गठबन्धन स्थानीय तहमा पनि कायम राख्ने भनिएको थियो। अपेक्षा पनि थियो। अन्तिम समयसम्म पनि गठबन्धन हुन्छ भन्नेमा ढुक जस्तै थियो। तर अन्तमा काठमाडौंमा गठबन्धन हुन नसक्ने अवस्था बन्यो। त्यसले केही अन्यौलताको स्थिति उत्पन्न भयो,’ उनले भने, ‘तर, अहिले केन्द्रीय स्तरबाट गठबन्धन हुने हो। संविधानको रक्षाका निमित्त गठबन्धन हुने हुँदा यो मर्म अनुरूप देशभरि माहौल बन्नेछ। त्यस कारण अहिले सहज रुपमा विजयी हुन्छौं।’

कस्तो छ जनाधार ?

२०७४ को निर्वाचनमा काठमाडौं-३ बाट वाम गठबन्धनका उम्मेदवार (नेकपा एमालेका) कृष्णबहादुर राई विजयी भएका थिए। उनले १९ हजार १६९ मत प्राप्त गरेका थिए। राईका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अम्बिका बस्नेतले १४ हजार ८८४ मत प्राप्त गरेकी थिइन्। गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा प्राप्त मत परिणाम अनुसार यहाँ नेपाली काँग्रेस ठूलो दल हो।

उसले काँग्रेस १५ हजार ७९५ मत प्राप्त गरेको थियो। त्यस्तै, एमाले १४ हजार ८७६, नेकपा माओवादी केन्द्र ४ हजार ३१ मत प्राप्त गरेको छ। स्थानीय तहको निर्वाचनमा यहाँ स्थानीय आवश्यकता अनुसार गठबन्धन भएको थियो। वडामा पनि फरक फरक दलहरूबीच चुनावी सहकार्य भएको थियो। उक्त मत परिणाम दलका वडाध्यक्षले प्राप्त गरेको र जहाँ वडाध्यक्ष छैन त्यहाँ वडा सदस्यहरूले प्राप्त गरेको मत हो। स्थानीय तहमा प्राप्त मत परिणाम अनुसार यहाँ गठबन्धन विजयी निश्चित जस्तै छ।

को हुन् फुयाँल ?

महेश्वर फुयाँल माओवादी केन्द्रका युवा नेता हुन्। उनी पूर्णकालीन पार्टीको गतिविधिमा सक्रिय छन्। जिम्मेवारीको हिसाबले उनी हाल नेकपा माओवादी केन्द्र बागमती प्रदेशको सचिवालय सदस्य हुन्।

फुयाँल २०५६ सालदेखि अखिल क्रान्तिकारीमा आबद्धता हुँदै माओवादी आन्दोलनमा जोडिएका हुन्। माओवादी आन्दोलनको क्रममा उनले २०५९ र ०६१ सालमा गरी साढे दुई वर्ष जेल जीवन बिताउन परेको थियो। २०५७ सालदेखि उनी पूर्णकालीन सदस्य भएर पार्टीको गतिविधिमा सक्रिय रहँदै आएका छन्।

नेकपा माओवादी केन्द्र र एमालेबीच एकता भएपछि बनेको तत्कालीन नेकपाको काठमाडौं जिल्लाको सचिव थिए। हाल उनी माओवादी केन्द्रको काठमाडौं-३ का इन्चार्ज समेत हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्