उद्धार र राहतमा कति छन् सुरक्षाकर्मी ?

sena
लाेकपाटी न्यूज

काठमाडौं, १९ चैत । बारा र पर्सामा आइतबार साँझ आएको असिनापानीसहितको हावाहुरीबाट निम्तिएको विपत्तिमा सबै सुरक्षा निकाय उद्धारमा सक्रिय रहेका छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको टोलीले उद्धार कार्य तीव्र पारेको गृह मन्त्रालयले जनाएको छ । नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट विशेषज्ञ चिकित्सकसहित १९ जना स्वास्थ्यकर्मीको दुई टोली उपचारमा सक्रिय रहेको छ । नेपाल प्रहरी श्रीमती सङ्घले पाँच हजार थान त्रिपाल, ड्राइफुड समेतका खाद्यान्न, सरसफाइलगायत अन्य राहत सामग्री प्रभावित क्षेत्रमा तत्काल पठाएको प्रहरी वरिष्ठ उपरीक्षक जोशीका बताए ।

प्रभावित स्थानमा खोज, उद्धार तथा राहतलाई तीव्रता दिन आइतबार रातिदेखि नै २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक हरिबहादुर पाल समेतको टोली परिचालित रहेको थियो । साथै जिल्ला प्रहरी कार्यालय बारा तथा पर्सा, दङ्गा नियन्त्रण प्रहरी गण हेटौँडा, सशस्त्र प्रहरी गण जनकपुर, मध्य क्षेत्र सशस्त्र प्रहरी गण रातोमाटे, विपद् व्यवस्थापन गुल्म वीरगञ्ज लगायतका प्रहरी युनिटबाट समेत तत्काल प्रहरी टोलीलाई उद्धारमा खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

आइतबार आएको हावाहुरीका कारण गम्भीर घाइते भएका थप दुई जनालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौंस्थित शिक्षण अस्पतालमा ल्याइएको छ । अहिलेसम्म शिक्षण अस्पतालमा नौ जना घाइतेको उपचार भइरहेको छ । बारा परवानीपुर गाउँपालिका–८ का १० वर्षीय नुरमोहम्मद अन्सारी र बारा कलैयाका सुनितादेवी ठाकुरलाई थप उपचारका लागि आजै शिक्षण अस्पताल ल्याइएको प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिए ।

प्रहरीका अनुसार सो घटनामा अहिलेसम्म २७ जनाले ज्यान गुमाएका छन् भने ६०० भन्दा बढी घाइते छन् । धेरै घाइते उपचारपछि घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्