काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हैलले शिष्टाचार भेट गरेका छन्। सोमबार मन्त्रालयमा भएको भेटमा उनीहरुबीच नेपाल र कतारबीच पर्यटन प्रवर्द्धनमा हुनसक्ने सहकार्यका साथै दुई देशबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको छ।
नेपाल र कतारबीच दौत्य सम्बन्ध स्थापित भएको ४६ वर्ष भइसकेको चर्चा गर्दै मन्त्री श्रेष्ठले दुई देशबीचको सम्बन्ध र सहकार्य अझै फराकिलो होस् भन्ने आफ्नो चाहना रहेको बताए। दुई देशबीच पर्यटन प्रवर्द्धनका निम्ति सहकार्य गर्नेबारे उनीहरुबीच छलफल भएको थियो। आगामी नोभेम्बरमा कतारमा आयोजना हुने २२ औँ संस्करणको फिफा विश्वकप प्रतियोगितामा नेपालको पर्यटन प्रवर्द्धन गर्नेबारे पनि उनीहरुबीच छलफल भएको छ।
नेपालको पर्यटन प्रवर्द्धनका लागि कतार सरकार सहयोग गर्न सधैँ तयार रहेको राजदूत हैलले बताए। नेपाल-कतार दुईतर्फी हवाई सेवालाई थप प्रभावकारी बनाउनेबारे पनि उनीहरुबीच छलफल भएको थियो। सो अवसरमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजले अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नेबारे पनि छलफल भएको थियो। राजदूत हैलले मन्त्री श्रेष्ठलाई कतार भ्रमणको निमन्त्रणा दिएका छन्।



लोकपाटी न्यूज

