एमाले परित्याग गरेका सुशान्तद्वारा स्वतन्त्रबाट उमेद्वारी दिने घोषणा

लोकपाटी न्यूज

काठमाडौं । मंसिर ४ मा हुन लागेको निर्वाचनलाई लिएर स्वतन्त्र उमेद्वारका रुपमा उमेद्वारी घोषणा गर्ने क्रम बढ्दो छ । यसैक्रममा नेकपा (एमाले) परित्याग गरेका ई. सुशान्त श्रेष्ठले काठमाडौं– ५ बाट स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले काठमाडौं– ५ बाट प्रतिनिधि सभाको लागि उम्मेद्धवारी दिने घोषणा गरेका हुन् । प्रतिनिधि सभाका लागि विगत ४ वर्षदेखि नै तयारी गरिरहेको उनले जानकारी दिए ।

आफू २५ वर्षको हुँदादेखि एमालेमा सक्रिय भएर काम गरेको उल्लेख गर्दै उनले युवाहरुलाई दलका नेताले मुठ्ठीमा राख्न खोजेको आरोप लगाए । पार्टीमा युवाहरुको योग्यता, सीप र क्षमताको कदर नभएकै कारण स्वतन्त्र रुपमा मैदानमा आउनु परेको उनको आशय थियो ।

नेपालमा गणतन्त्र स्थापनाको भएको १४ वर्षभन्दा बढि समय बितिसक्दा पनि जनताको अवस्थामा सुधार नभएको भन्दै उनले नेपालका राजनीतिक दलले चिल्ला नारामात्रै बाडिरहेको र जनताले त्यही पत्याई रहेको बताए । प्रत्येक मतदाताको सुझाब लिने र सुझाबलाइ आत्मसात् गर्दै समस्या समाधानका उपाय खोज्ने उनको भनाइ छ ।

४० जना स्वतन्त्र सांसदहरु प्रतिनिधि सभामा प्रवेश गर्ने उनको दावी छ । श्रेष्ठले अघि सारेका योजनामा सामाजिक क्रियाशिलता, पारदर्शिता र जवाफदेहिता, प्रविधिमैत्री सेवा, उद्यमशिलता र शिक्षा, सांस्कृतिक नीति जस्ता विषय रहेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्