उर्लाबारी, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजको वास्तविक हिरो मदन भण्डारी भएको बताएका छन्। आफ्नो जीवन गएको २५ वर्षपछि पनि जननेता भण्डारीले लिएका सोच र विचारअनुसारै देशले नयाँ बाटो प्राप्त गरेको बताउँँदै ओलीले मदन उनको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरे।
मोरङको उर्लाबारी नगरपालिका–३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा इञ्जिनीयरिङ कलेजको उद्घाटन, प्रतिष्ठानको रजतजयन्ती स्तम्भ अनावरण र साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जननेता भण्डारीको विचारअनुसारै अहिलेको शासन प्रणाली स्थापित भएको उल्लेख गरे। कोही मानिसले नबुझेर र स्वार्थका कारण विरोध गरे पनि जननेता भण्डारीको विचारअनुसार नै अब देशको सुशासन र विकास हुने पनि बताए। प्रतिष्ठानको विकासका लागि सङ्घीय, प्रदेश र स्थानीय तह तीन वटै सरकार एक भएर लाग्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले सो संस्थामा अध्ययन गर्ने भाइबहिनी इञ्जिनीयर र प्राविधिक भएर निस्कने भएकाले नै संस्थाको विकास नै समाजको विकास हुने बताए।
शिक्षाको गुणस्तरमा कुनै सम्झौता गर्न नहुने बताउँदै प्रधानमन्त्री ओलीले शिक्षामा राजनीतिक रङ देखाउन नहुनेमा जोड दिए। “जे उद्देश्य हो त्यहीअनुसार काम गनुपर्छ”। प्रधानमन्त्री ओलीले भने, “यसलाई देश र जनताप्रति साझा संस्थाका रुपमा विकास गर्नुपर्छ ।”
प्रधानमन्त्री ओलीले संस्थाको लेखाप्रणाली स्वच्छ र पारदर्शी हुनुपर्नेमा जोड दिए। प्रधानमन्त्रीले लगानी सम्मेलनको सफलतापछि अब यही आर्थिक वर्षभित्रै युवाको व्यापक सहभागितामा अन्तर्राष्ट्रिय खोज, अध्ययन एवम् अनुसन्धान सम्मेलन आयोजना गरिने जानकारी दिए।
उनले जननेता भण्डारीको सम्झनामा यहाँ निर्माण गरिएको मदन भण्डारी सङ्ग्रहालयको पनि अवलोकन गरेका थिए। भण्डारीको राजनीतिक, सामाजिक एवम् पारिवारिक गतिविधिलाई समेटेर सो सङ्ग्रहालय निर्माण गरिएको हो । करीब आधा घण्टाको समयमा प्रधानमन्त्री ओलीले सङ्ग्रहालय प्रवेशद्वारमा रहेको जननेता भण्डारीको तस्बीर र उहाँ जन्मिएको ताप्लेजुङको ढुङ्गेसाँघु गाउँको चित्रणदेखि अन्त्यमा चितवनको दासढुङ्गामा उहाँ सवार दुर्घटनामा परेको जीपको अवलोकन गरे।
जननेता भण्डारीको जीवनका विषयमा जो कोहीलाई पनि बुझ्न सहज होस् भन्ने उद्देश्यले सङ्ग्रहालय निर्माण गरिएको प्रतिष्ठानका अध्यक्ष गुरुप्रसाद बरालले जानकारी दिए।सो क्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, प्रदेशका मन्त्री, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ का इञ्चार्ज भीम आचार्यलगायतको पनि सहभागिता रहेको थियो ।
प्रधानमन्त्री ओली आज अपराह्न आफ्ना निर्वाचन क्षेत्रका विभिन्न कार्यक्रममा सहभागी हुन दमक पुगेका हुन् । मदन भण्डारी स्मृति प्रतिष्ठानमा इञ्जिनीयरिङ कलेजको उद्घाटन, रजतजयन्ती स्तम्भ अनावरण र प्रतिष्ठानको साधारणसभाको उद्घाटनपछि दमक आइपुगेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।
उनले दमक नगरपालिका परिसरमा निर्माण भएको नयाँ प्रशासनिक भवनको उद्घाटन र त्यसपछि प्रदेशस्तरीय बृहत् वाङमय सङ्गोष्ठीको उद्घाटन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीले आजै गौरादह र दमक नगरपालिकाका जनप्रतिनिधिसँग पनि भेटघाट एवं छलफल गर्ने र सोमबार बिहान दमक रेडक्रस हलमा आयोजना हुने नगर र वडा कमिटीको शपथ तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुने जनाइएको छ। सोमबार नै प्रधानमन्त्री ओलीले दमक ७ मा निर्माण भएको पशुपंक्षी हाटबजारको उद्घाटन गर्ने कार्यक्रम पनि रहेको छ ।
त्यसपछि गौरादहस्थित विद्यालय चौरमा भारतीय सरकारको सहयोगमा निर्माण भएको मावि भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा सहभागी हुने र अपराह्न काठमाडौँ फर्कने कार्यक्रम रहेको प्रेस संयोजक अधिकारीले बताए।



लाेकपाटी न्यूज

