काठमाडौं। निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन लोकतन्त्रको जीवन पद्धति भएकाले आम मतदातालाई त्यस विषयमा सुसूचित गराउन र निर्णय गर्न सक्ने बनाउन सञ्चारमाध्यमले भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। राजधानीमा आयोजित एक अभिमुखीकरणमा उनले स्वच्छ, निष्पक्ष, भयमुक्त, विश्वसनीय र पारदर्शी निर्वाचनका लागि सहयोग पुग्ने गरी विगतमा झैँ सञ्चार क्षेत्रले योगदान दिने विश्वास व्यक्त गरे।
‘विश्वसनीयताको अर्को नाम रासस हो भन्ने फिलिङ मरिसकेको छैन। यो अवसरलाई निर्वाचनका समयमा उपयोग होस्। सूचना बैंकका रुपमा यसले मुलुकका हरेक घटना र समयको सजीव चित्र प्रस्तुत गरिरहन सकोस्। त्यसका लागि आयोगबाट हुने सहयोग र पहुँचमा कमी गरिने छैन।’ प्रमुख आयुक्त थपलियाले भने, ‘लोकतन्त्र, मानवअधिकार, विकास, समृद्धि र निर्वाचनजस्ता हरेक सवालका घटनालाई नियालेर लिपिबद्ध गर्ने रासस नेपालको एक जिउँदो इतिहास बोकेको संस्था हो। देशभरिका प्रतिनिधिको सञ्जाल परिचालन र केन्द्रमा निर्वाचनसम्बन्धी डेस्क खडा गरी एक सय ६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन केन्द्रित गतिविधिलाई अझ प्रभावकारीरुपमा पस्कन तपाईंहरु लाग्नुहोला।’
स्थानीय तहको निर्वाचन सम्पन्न हुनु तथा आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मिति तय हुनाले मुलुकमा कुन निर्वाचन कहिले हुन्छ भन्नेजस्ता प्रश्नहरू स्वतः अन्त्य हुनाका साथै संविधान र कानुनले तोकेबमोजिम पाँच वर्षे कार्यवधिमा निर्वाचन हुने प्रणाली स्थापित भई संविधान र संघीयता कार्यान्वयनको उपयुक्त प्रक्रिया थालनी भएको अवसरका रुपमा लिनुपर्ने उनको भनाइ थियो।
प्रमुख आयुक्त थपलियाले भने, ‘जनताले हरेक निर्वाचनबाट आफ्नो सार्वभौम अधिकार प्रयोग गर्छन्। मतदाताले चुन्न पाउने यो लोकतन्त्रको सुन्दर पक्ष र अवसर हो। यसलाई स्वच्छ र निष्पक्ष बनाउनु हामी सबैको दायित्व हो। मतदाताले निर्वाचन प्रणालीसँग आफूलाई अभिन्नरुपमा जोडेकाले त्यसको सम्मान हुने गरी हामीले स्थान दिन सक्नुपर्छ।’
आउने निर्वाचनका लागि मतदाता नामावलीको विवरण चाँडै सार्वजनिक गरिने र मतदान स्थल तथा केन्द्रहरूको पुनरावलोकनका लागि आएका सिफारिसमाथि पनि निर्णय हुने जानकारी दिँदै उनले निर्वाचनका क्रममा सञ्चारमाध्यमको दुरुपयोग हुने, मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति प्रस्तुत हुन सक्ने हुनाले त्यसलाई नियन्त्रण गर्न पत्रकारिता क्षेत्र जिम्मेवार हुनुपर्नेमा जोड दिए।
प्रमुख आयुक्त थपलियाले कसैले बोलेका कुरा भन्दैमा त्यो आम नागरिकमाझ दिन लायक छ/छैन भन्ने आंकलन नगरी निश्चित उम्मेदवार, दल वा अमुक सञ्चारमाध्यमलाई मात्र लाभ हुने गरी सामग्री प्रस्तुत गर्न नपाइने स्पष्ट पारे।
स्थानीय निर्वाचनका समयमा केही समाचारका उदाहरण प्रस्तुत गर्दै उनले अपुष्ट तथ्यांकका वा सुनेका भरमा मनमा बुनेर समाचार लेखिनु गलत भएकाले त्यसतर्फ सचेत हुन आग्रह गर्दै निर्वाचनका लागि सबै दल र उम्मेदवारलाई बराबर स्थान दिने सिद्धान्त दिइनुपर्ने पनि बताए। पत्रकारहरू दलीय राजनीतिक आबद्धता हुन नहुने र त्यस प्रकारको संकेत हुने खालका समाचार पनि दिन नहुने प्रमुख आयुक्त थपलियाले स्मरण गराए। -रासस



लोकपाटी न्यूज

