काठमाडौं। नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई भेटेका छन्। डा. भट्टराईले बिहीबार अध्यक्ष प्रचण्ड र वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई भेटेर वाम समाजवादी मोर्चा बनाउन छलफल गरेका हुन्।
हात्तीवनस्थित एक निजी निवासमा तीन नेताबीच छलफल भएको हो। ‘बिहान सवा ९ बजेदेखि सवा १० सम्म भेट भएको हो। भेटवार्तामा चुनावी तालमेलका र पार्टी एकताबारे छलफल भएको छ,’ भट्टराई निकट नेताले भने। उपेन्द्र यादव नेतृत्वको जसपाबाट छुटिएर नेसपा बनाएका भट्टराई पाँच दलीय गठबन्धनमा आवद्ध हुन चाहन्छन्।
उनीहरू चुनावी गठबन्धन र सहकार्यको विषयमा छलफल भएको बताइएको छ। ‘मोर्चा बनाउने र एउटै चुनाव चिह्नमा लड्ने प्रस्ताव राखेका छौं,’ ती नेताले अगाडि भने, ‘उहाँहरूले सल्लाह गरौंला भन्नुभएको छ।’ भट्टराईले हालै प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटेर गठबन्धनमा सहभागी गराउन आग्रह गरेका थिए। उनले औपचारिक रुपमा आफ्नो नेतृत्वमा पार्टी गठन गरेपछि राजनीतिक भेटवार्ता अघि बढाएका हुन्।



लोकपाटी न्यूज

