काठमाडौं। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले जबरासँग उनीमाथि लागेको आरोपका सम्बन्धमा बयान लिनुपर्ने बताएका छन्।आइतबार प्रतिनिधिसभा बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन्।
उनले महाअभियोगको सिकार भएका प्रधानन्यायाधीशको फैसलाले प्रतिनिधिसभा पुनःस्थापना भएको र प्रधानमन्त्री नियुक्त भएको भन्दै यसमा नैतिक प्रश्न उठेको उल्लेख गरे।
यस्तै, सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) की सांसद चाँदतारा कुमारीले न्यायपालिकाको भ्रष्टाचार, विकृति र विसंगति हटाउन महाअभियोग लगाउनु परेको बताएकी छन्। उनले जबराले संवैधानिक जिम्मेवारीको दुरुपयोग गरेको आरोप लगाइन्।
जबराले असंवैधानिक काम गरेको भन्दै सर्वोच्च अदालतमा बिचौलियालाई प्रवेश गराएका कारण पनि महाअभियोग आवश्यक भएको उनको तर्क छ। राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले जबराविरुद्धको महाअभियोग प्रस्ताव सत्तापक्ष र प्रतिपक्षको साझा भएको बताइन्। उनले जबरामाथि महाअभियोग लगाउनुको विकल्प नभएको दावी गरिन्।



लोकपाटी न्यूज

