काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठलाई बुझाएको छ। आज मन्त्रालयमा समितिको प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले सहकारीहरूलाई जिम्मेवार बनाउन सबै पक्ष लाग्नु पर्नेमा जोड दिइन्।
सहकारीहरू मुल्य, मान्यता, सिद्धान्त अनुसार चल्नु पर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले सहकारीहरू समस्याग्रस्त बन्ने अवस्था आउन नदिने गरी काम गर्न सम्बद्ध पक्षलाई आग्रह समेत गरिन्। मन्त्री श्रेष्ठले सहकारी अभियान र आन्दोलनलाई स्थापित गर्न र सहकारीलाई उत्पादनसँग जोडेर आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सकिन्छ भन्नेमा मन्त्रालय विश्वस्त रहेको बताइन्।
उनले सहकारीलाई आर्थिक विकासको मेरुदण्डका रुपमा लिएको र आर्थिक विकास र समृद्धिका लागि सहकारीको भूमिका महत्त्वपूर्ण हुने भन्दै सहकारीहरूलाई सदस्य केन्द्रित भई व्यावसायिक बनाउनु पर्नेमा जोड समेत दिइन्।
समितिको वार्षिक प्रतिवेदन बुझाउँदै अध्यक्ष काशीराज दाहालले सहकारी संस्थाहरूमा विकृति र विसंगतिको रोकथाम र नियन्त्रणको लागि सहकारी दर्ता प्रक्रियामा नै विशेष ध्यान दिनु पर्ने बताए। प्रतिवेदनमा सहकारीलाई सहकारी कै रुपमा सञ्चालन नगर्दा र सहकारी सम्बन्धी ऐन कानुनको पालना नहुँदा सहकारी संस्थाहरू समस्याग्रस्त हुन पुगेको औँल्याइएको छ।
सहकारीहरूलाई समस्याग्रस्त हुनबाट जोगाउन सहकारी ऐन/नियमको प्रभावकारी कार्यान्वयनका साथै सहकारी संस्थाहरूमा सुशासन प्रवर्द्धन आवश्यक रहेको पनि प्रतिवेदनमा उल्लेख छ।



लोकपाटी न्यूज