खोला ओगट्ने कम्पनीको लाइसेन्स खारेज गरिनेछ : मन्त्री भुसाल

Pamfa_Bhusal
लोकपाटी न्यूज

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलविद्युत्‌ उत्पादनको लाइसेन्स लिने, पीपीए पनि गर्ने तर निर्माणमा नगई खोलानदी ओगटेर बस्ने प्रवृत्तिलाई निस्तेज गरी वास्तविक प्रवर्द्धकहरूलाई प्रोत्साहित गर्नेतर्फ कदम चाल्न आवश्यक रहेको बताएकी छन्। उनले जलविद्युत्‌ आयोजनाको लाइसेन्स होल्ड गर्नेप्रति मन्त्रालय निर्मम हुने संकेतसमेत गरेकी छन्।

लाइसेन्स लिने, पीपीए पनि गर्ने तर आयोजना निर्माणको काम नगर्दा सरकारले ठूलो क्षति बेहोरेको भन्दै यस्तै प्रवृत्तिलाई नियन्त्रण गर्न आवश्यक रहेको बताएकी हुन्। ‘लाइसेन्स लिने, पीपीए गर्ने तर निर्माणमा नगई खोलानदी ओगटेर बस्ने प्रवृत्तिलाई निस्तेज गरी वास्तविक प्रवर्द्धकहरूलाई प्रोत्साहित गर्नेतर्फ हामीले कदम चाल्न आवश्यक छ,’ मन्त्री भुसालले भनिन्।

नेपाल आर्थिक पत्रकार समाज र वित्तीय क्षेत्र स्थायित्व कार्यक्रमले आइतबार आयोजना गरेको अन्तर्देशीय विद्युत्‌ व्यापारसम्बन्धी कार्यशालामा उनले सरकारको पहिलो प्राथमिकता अधिकतम विद्युत्‌ उत्पादन गर्ने र खपत बढाउने भएको बताइन्। केही समयभित्र नै प्रतिव्यक्ति विद्युत्‌ खपतलाई क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा तुलनायोग्य बनाउने बताइन्। अहिले विद्युत्‌ निर्यात गर्न नसक्नु खोलानदी सित्तैँमा खेर फाल्नुसरह भएकाले अधिकतम अन्तर्राष्ट्रिय बजार खोज्न आवश्यक रहेको उनको भनाइ थियो।

‘स्वदेशी खपतभन्दा बढी हुने विद्युत्‌ अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नुको विकल्प छैन। हाम्रो विद्युत्‌ उत्पादन प्रणाली जलस्रोतमा आधारित भएको र जलाशययुक्त आयोजनाहरूको सट्टा नदी प्रवाही जलविद्युत्‌ आयोजनाहरूको बाहुल्य भएकाले आन्तरिक बजारमा पर्याप्त नहुँदासम्म दिनको कुनै पनि समयमा बढी हुने विद्युत्‌ निर्यात नगर्नू भनेको खोला नदीमा सित्तैँमा पानी खेर फाल्नु हो,’ मन्त्री भुसालले भनिन्, ‘विद्युत् बिक्री गर्न सकिएन भने उत्पादकबाट टेक अर पे प्रावधानमा आधारित विद्युत्‌ खरिद सम्झौता भएकाले ठूलो मात्रामा वित्तीय जोखिम आउँछ। जसबाट सरकार, निजीक्षेत्र र बैंक तथा वित्तीय संस्थाहरू आर्थिक रूपमा धराशायी हुन सक्छन्।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्