भरतपुर महानगरद्वारा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई १० हजार छात्रवृत्ति

pic 2
लोकपाटी न्यूज

चितवन। भरतपुर महानगरपालिकाले वार्षिक कार्यक्रम अनुसार प्राविधिक उच्च शिक्षा स्नातक र स्नाकोत्तर अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृति वितरण गरेको छ। शुक्रबार भरतपुर महानगर सभाहलमा एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा चेक विद्यार्थी एवं अभिभावकलाई हस्तान्तरण गरे। छात्रवृत्ति कार्यक्रममा छनोट भएका छात्रछात्राहरुले एक वर्षको लागि १० हजार रुपैयाँ पाएका छन्।

महानगरले छात्रवृति पाउन पाँच वटा सीमा निर्धारण गरेको थियो। छात्रवृत्ति पाउन अपाङगता, लोपोन्मुख, अतिसिमान्तकृत, दलित तथा सहिद परिवारका विद्यार्थी हुनुपर्ने प्रावधान थियो। यस अन्तरर्गत नगर विकास योजनाको आर्थिक वर्ष ०७८/०७९ स्वीकृत वार्षिक कार्यक्रममा भरतपुर महानगरपालिकाभित्र स्थाई बसोबास गर्ने ८ जना विद्यार्थी छनोट भई छात्रवृत्ति पाएका छन्।

महानगरले प्रमाणपत्र तहमा ६ सय ९२ जना विद्यार्थीहरुलाई छात्रवृत्ति दिँदै आइरहेको भएपनि यस वर्षदेखि उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरी यो कार्यक्रम लागू गरिएको महानगर प्रमुख रेनु दाहालले बताइन्। भरतपुरको शिक्षा विकासलाई थप अगाडि बढाउन उच्च शिक्षा पढ्ने विद्यार्थीलाई प्रोत्साहन गर्न यो कार्यक्रम लागू गरिएको मेयर दाहालको भनाई छ। यो कार्यक्रमले आगामी वर्ष पनि निरन्तरता पाउने मेयर दाहालले जानकारी दिइन्।

महानगरपालिकाले यो छात्रवृत्ति ५० जनालाई दिने व्यवस्था गरेपनि ८ जना मात्रै छनोट भएका छन्। यो पहिलो वर्ष भएकाले सबै विद्यार्थीलाई छात्रवृत्तिबारे जानकारी नभएको हुन सक्ने भरतपुर महानगरपालिका शैक्षिक महाशाखा प्रमुख महेन्द्र प्रसाद पौडेलले जानकारी दिए। यस वर्ष छनोट भएकाले वर्षेनी नियमति क्याम्पसमा अध्ययन गरी रहेको कागजात बुझाएर छात्रवृत्ति नविकरण गर्नु पर्ने प्रमुख पौडेलले जानकारी दिए। महानगरले आगामी वर्ष ५० जनालाई छात्रवृत्ति दिने गरी कार्यविधि संशोधन गर्ने पनि जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्