चुनावी गठबन्धन गर्न नेपाली कांग्रेस एकमत

congress meeting kendriye
लोकपाटी न्यूज

काठमाडौं।आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्तारूढ गठबन्धनबीच चुनावी तालमेल विषयमा नेपाली कांग्रेस एकमतसाथ अघि बढ्ने देखिएको छ। यसअघि, स्थानीय तह निर्वाचनमा गठबन्धनबीच चुनावी तालमेल विषयमा फरक मत देखिए पनि आगामी निर्वाचनमा सम्मानजनक सिट बाँडफाँटसहितको तालमेल हुनुपर्ने पक्षमा कांग्रेसभित्र मतैक्यता बन्ने देखिएको हो।

शीर्ष नेता नै तालमेलको पक्षमा

गत २७ असारबाट सुरु कांग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यले धारणा राख्नेक्रम जारी छ। बैठकमा आगामी निर्वाचनका विषयमा कांग्रेसभित्र रणनीतिक बहस चल्दै छ। कांग्रेसले आगामी निर्वाचनमा तालमेल गरेरै जाने निर्णय यसै बैठकबाट गर्ने सम्भावना छ। जारी बैठकमा संस्थापनइतर समूहले पनि निर्वाचनमा गठबन्धन कायम राखेर जाँदा नेता कार्यकर्तालाई न्याय हुन्छ कि हुँदैन भनेर प्रश्न गरिसकेका छन्। यसअघि स्थानीय तहको निर्वाचनमा इतरसमूहले गठबन्धन गर्न नहुने अडान लिएको थियो।

केन्द्रीय समिति बैठकको पहिलो दिनमा नै इतर समूहको नेतृत्व गरेका डा. शेखर कोइरालाले स्थानीय तह निर्वाचनमा पार्टीको नीति, आदर्श र सिद्धान्तविपरीत गठबन्धन गरिएको भन्दै नेतृत्वको आलोचना गर्दा प्रतिनिधिसभा निर्वाचन र प्रदेशसभा निर्वाचनमा आवश्यकता र औचित्य पुष्टि हुनेगरी तालमेल’दयगत पार्टीको धारणा निर्माण गर्नुपर्ने धारणा राखेका छन्। बैठकमा सभापति देउवासामु प्रश्न गर्दै उनले भनेका छन्, ‘आगामी निर्वाचनमा व्यक्ति केन्द्रित गठबन्धन गर्दा पार्टीका साथीहरूलाई न्याय गर्न सक्छौं त ?’ कोइराला पक्षकै नेता एवं लुम्बिनी प्रदेशका कांग्रेस सभापति अमरसिंह पुनले पनि जारी बैठकमा आगामी निर्वाचनमा तालमेल हुनुपर्ने धारणा राखे।

‘स्थानीय तहमा तालमेल गर्नै हुने थिएन, गरिहालियो, अब किन तालमेल नगर्नु र ?’ जारी केन्द्रीय समिति बैठकमा उनले धारणा राख्दै भने।
जारी केन्द्रीय समिति बैठकमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आफैं पनि आगामी निर्वाचनमा सत्ताधारी दलबीच चुनावी तालमेल कायम रहने प्रस्ट सन्देश दिइसकेका छन्।

शीर्षस्थ नेताहरू पनि गठबन्धनबीचको तालमेल कायम राखेरै निर्वाचनमा जानुपर्ने पक्षमा छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहलगायतका शीर्ष नेताहरू गठबन्धन कायम गरेर निर्वाचनमा जानुपर्ने पक्षमा छन्। स्थानीय तह निर्वाचनमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीचमा गठबन्धन भएको थियो। स्थानीय तहको निर्वाचनको परिणामले तालमेलको विषयमा कांग्रेस झनै हौसिँदै आएको छ। आजको राजधानी दैनिकमा समाचार छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्