भैरहवा, १४ चैत । भैरहवास्थित बुद्ध ज्योति माविले विद्यालयमै स्यानिटरी प्याड उपलब्ध गराउँदै आएको छ । अहिले स्कुलमा सहजै स्यानिटरी उपलब्ध हुने भएपछि उनी जस्ता छात्रालाई निकै सहज भएको छ ।
विद्यार्थीहरुको समस्यालाई ध्यानमा राखेर भैरहवामा रहेको एक संस्थाले प्याडको व्यवस्था मिलाइदिएको विद्यालयले जनाएको छ । विद्यालयमै स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान गरेपछि छात्राहरुको पढाइ नियमित भएको छ । सोहि विद्यालयकी कक्षा ९ मा अध्ययनरत सदीक्षा घिमिरेले महिनावारी हुँदा महिनामा ३ र ४ दिन पठनपाठन अवरुद्ध हुने गरेको बताइन् । विद्यालयमा भएका बेला महिनावारी भइहाले कसरी रोक्ने भन्ने समस्याले उनी जस्तै थुप्रै छात्रालाई सताउँथ्यो ।
महिनावारी हुँदा अधिक रगत बग्ने हुँदा पठनपाठन छाडेर घरै बस्नुपर्ने अवस्था थियो । स्यानिटरी प्याड लगेर स्कुल जाँदा पनि समस्या बेहोर्नुपरेको उनी सुनाउँछिन्। तर, अब मेसिन जडान भएपछि हामीलाई धेरै सहज भएको उनी बताउँछिन् । विद्यार्थीहरुलाई लक्षित गरी रोर्टयाक्ट क्लब अफ लुम्बिनी सिद्धार्थनगरको सहयोगमा विद्यालयमै स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान गरिएको हो । जसबाट विद्यार्थीहरुले सहज रुपमा स्यानिटरी प्याड निकाली प्रयोगमा ल्याउन सक्नेछन्। मेसिनमा विद्यार्थीले एक रुपैयाँको सिक्का हालेपश्चात् स्वचालित रुपमा प्याड निस्किने गर्दछ ।
एक रुपैयाँको सिक्का पनि विद्यालय आफैले उपलब्ध गराई मेसिन नजिकै राखिदिएको छ । जसबाट आवश्यक परेको बेला निकै सहज रुपमा छात्राहरुले प्याड लिन सक्ने विद्यालयका कार्यक्रम संयोजक प्रतीक मल्लले बताए ।
रोर्टयाक्ट क्लब अफ लुम्बिनीको सहयोगमा ४० हजार रुपैयाँको लगानीमा स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान भएको हो । मेसिनमा एक पटकमा ७५ वटासम्म स्यानिटरी प्याड राख्न मिल्छ । यस मेसिनले महिनावारीको समयमा विद्यालयमा अध्ययनको लागि आउन नसक्ने समस्यालाई रोक्नमा सहयोग पुग्ने संयोजक मल्लले बताए । यसअघि पनि हामीले प्याड उपलब्ध गराएका थियौँ तर शिक्षिका नभएको अवस्थामा विद्यार्थीले प्याड माग्न असहज महसुस गर्थे, उनले भने, अब मेसिन नै जडान भएपछि आवश्यक परेको बेला विद्यार्थीहरुलाई धेरै सहज रुपमा प्याड लिइरहेका छन्।
महिनावारीको समयमा विद्यार्थीहरु विद्यालय आउन नमान्ने र आए पनि चाँडै घर फर्किने समस्या थियो । मेसिन जडान गरिसकेपछि सो समस्या हटेको मल्लले बताए । हाललाई परीक्षणको रुपमा राखिएको उक्त मेसिन सफल देखिएकोले बिस्तारै यसलाई जिल्लाको अन्य सामुदायिक विद्यालयहरुमा समेत जडान गर्ने योजना रहेको रोर्टयाक्टका अध्यक्ष ईश्वर भट्टराईले बताए ।
त्यस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराइएको छ । किशोरीलाई महिनावारी हुँदा पनि नियमित विद्यालय आउन प्रोत्साहित गर्नका लागि स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराइएको हो । यसका लागि नगरपालिकाले चालु आर्थिक वर्षका लागि पाँच लाख रुपैयाँ बजेट छुट्याएको नगर उपप्रमुख जागेश्वरी चौधरीले जानकारी दिइन्।
मूलतः कक्षा ६ देखिमाथिका छात्रालाई लक्षित गरी नगरपालिकाले यस्तो व्यवस्था मिलाएको हो । नगरपालिकामा कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्राहरुको संख्या ३ हजार ६ सय ५० छ । सरदरमा प्रतिछात्रा १ सय ३६ रुपैयाँका दरले स्यानिटरी प्याडका लागि विद्यालयलाई रकम दिइएको हो ।
आर्थिक अभावमा कतिपय छात्राहरुले पुराना कपडा प्रयोग गर्ने र त्यसबाट संक्रमण हुन सक्ने भएकाले चेतना अभिवृद्धिका लागि पनि स्यानिटरी प्याड उपलब्ध गराइएको नगरपालिकाको भनाइ छ। छात्रा संख्याको आधारमा नगरपालिकाले रकम विद्यालयको खातामा जम्मा गरिदिएपछि विद्यालयहरुले प्याडको व्यवस्था मिलाएका छन्। यसका लागि विद्यालयहरुले एक जना महिला शिक्षकलाई ‘फोकल पर्सन’ तोकेका छन्।
स्यानिटरी प्याडको उपलब्धताले किशोरीहरु ढुक्कसँग विद्यालय आउने वातावरण बनेको जनजागृति माविका शिक्षक नरेन्द्र बहादुर क्षत्रीले बताए । ‘नगरपालिकाले बजेट नदिँदासम्म स्कुलमा स्यानिटरी प्याडको व्यवस्था थिएन। नगरपालिकाले बजेट दिएपछि चालु शैक्षिक सत्रबाट हामीहरुले छात्राहरुलाई आवश्यकताका आधारमा निःशुल्क स्यानिटरी प्याड दिन थालेका छौं ।



लाेकपाटी न्यूज

