काठमाडौं। मदन जयन्तीको अवसरमा मंगलबार प्रेस चौतारी नेपाल रामेछापले मन्थलीमा ‘जनताको बहुदलीय जनवाद (जबज) र अभिव्यक्ति स्वतन्त्रता’विषयक अन्तरसंवाद कार्यक्रम गरेको छ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य नवराज पथिकले ‘मदन भण्डारी, जनताको बहुदलीय जनवाद र अभिव्यक्ति स्वतन्त्रता’का विषयमा अवधारणापत्र प्रस्तुत गरेका थिए।
कार्यक्रममा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले समाज रुपान्तरणको अभियानमा मात्रै नभै जननेता मदन भण्डारीले अगाडि सारेको नवीन विचार व्यक्तिको जीवन परिवर्तनमा पनि उत्तिकै महत्व रहेको बताए। जनताको बहुदलीय जनवादका विषयमा पछिल्लो समयमा विचार विमर्श कम हुने गरेको उनको भनाई छ।
‘पार्टीका बैठक, छलफल, प्रशिक्षण कार्यक्रममा समेत पार्टीका विचारका बारेमा छलफल हुन छाडेको छ। अहिले विचारभन्दा पनि पैसा र शक्तिको पछाडि समाज दौडिन थालेको छ।’ श्रेष्ठले भने, ‘अहिले विचार र बहसको राजनीतिभन्दा पैसा, चुल्ठे, मुन्द्रेहरूको प्रयोग र राज्यसत्ताको दुरुपयोग गरेर राजनीति गर्नेहरू बढिरहेका छन्।’
उनले यस्तो चल्तीको राजनीति केही समय चले पनि विचार विनाको राजनीति धेरै नटिक्ने स्पष्ट पारे। श्रेष्ठले भने, ‘यस्तो खालको राजनीतिले समाज रुपान्तरण, आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तनसहितको समाज निर्माण हुन सक्दैन। लोकतान्त्रिक मान्यतासहितको न्यायपूर्ण समाज निर्माणका लागि वैचारिक समाज स्थापित हुनुपर्छ।’
मदन भण्डारी लामो समय नेपालको कम्युनिष्ट आन्दोलनमा लागेपनि जम्मा जम्मी चार वर्षमात्रै पार्टी नेतृत्वमा रहेको उनले स्मरण गरे। उनले भने, ‘भण्डारीले चार वर्षमा नै विश्व हल्लाएको बताउनुभयो। सिद्धान्तका निम्ति जीवन होइन, जीवनका निम्ति सिद्धान्त हुनुपर्छ, विचार विनाको पार्टी बलियो नहुने स्पष्ट धारणा राख्नु हुन्थ्यो।’ अध्यक्ष श्रेष्ठले नेकपा एमाले रामेछापले पार्टीको वैचारिक कामलाई व्यवस्थित बनाउन लागेको जानकारी समेत गराए।
वि.सं २०४८ मा भएको आमनिर्वाचनमा नेपाली कांग्रेसका संस्थापक नेता तथा बहालवाला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरी काठमाडौं क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा जितेपछि भण्डारी विश्वभर चर्चित भएका थिए। विश्वप्रख्यात म्यागेजिन ‘न्युजविक’ले मे २७, १९९१ (जेठ १३, २०४८) मा उनको अन्तर्वार्ता छापेको थियो। ‘नेपाल, जहाँ कार्ल मार्क्स जीवित छन्’ शीर्षकमा प्रकाशित भएको अन्तर्वार्ताले उनको उचाइ झन् माथि पुर्याएको थियो।
वि.सं. २०५० जेठ ३ गते चितवनको दासढुङ्गमा जीप दुर्घटनामा परी तत्कालीन नेकपा (एमाले) का महासचिव जननेता भण्डारी र तत्कालीन सङ्गठन विभाग प्रमुख कमरेड जीवराज आश्रितको निधन भएको थियो।
अन्नपूर्ण पोष्टबाट।



लोकपाटी न्यूज

