अध्यक्षले एनआरएन हाँक्न सक्नुभएन : उपाध्यक्ष पोखरेल

लोकपाटी न्यूज

लण्डन। गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेका उपाध्यक्ष रामचन्द्र पोखरेलले कार्यसमितिमा विकसित पछिल्ला गतिविधिहरुका कारण बेलायतवासी नेपालीहरू गम्भीर भएको बताएका छन्।

उनले विशेषगरी संघका वर्तमान अध्यक्षले विधानबिपरीत गतिविधिहरू बढाएको, आइसीसीप्रति उत्तरदायी नभएको, भइसकेका निर्णयहरुलाई लागू नगरेको, पदाधिकारीहरूसँग झैझगडा अलमलिएको, अवैधानिक आर्थिक कारोवारहरू गरेको र व्यक्तिवादी चरित्रमा बदलाव नआएको दावी गरेका छन्।

एनआरएनएको राष्ट्रिय परिषद बेलायतको पछिल्ला गतिविधिहरूबारे सर्कुलर गर्दै उपाध्यक्ष पोखरेलले भनेका छन् – “गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिसद बेलायतको कार्यसमितिमा विकसित भएका पछिल्ला गतिविधिहरुले गम्भीर बनाएको छ। विशेषगरि संघका वर्तमान अध्यक्ष प्रेम गाहामगरले संस्थाको बिधानविपरित विभिन्न गतिविधि अघि बढाएको, संघको अभिभावक संस्था गैर–आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदप्रतिको जवाफदेहितामा लापरवाही गरेको, कार्यसमितिमा भइसकेको निर्णयलाई लागू गर्न समेत अड्को थापेको, कार्यसमितिमा पदाधिकारी तथा सदस्यहरूसँग झैझगडा गरी सँगै काम गर्ने वातावरण कायम गर्न नसकेको, विधानअनुसार आर्थिक कारोवार नगरेको एवं व्यक्तिवादी प्रवृत्ति हावी लगायतका गतिविधिहरू विकसित भएका हुन्।”

उनले उल्लेखित समस्याको उल्झनबाट निस्कन भन्दै कार्यसमितिको बैठकमा तीन प्रस्ताव पेश गरेका छन्, जसमा गैर–आवासीय नेपाली संघ बेलायतले यसका कार्यबारे समीक्षा र आत्मसमीक्षाका साथ नयाँ सुरूवात, गैर–आवासीय नेपाली संघ आइसीसीसँगको बाँकी रहेका कार्यहरू सम्पन्न गर्न पहल र संघभित्र विश्वासको वातावरण तयार नभएसम्म गैर–आवासीय नेपाली संघ बेलायतको सम्पूर्ण आर्थिक कारोवार होल्ड गर्ने लगायत छन्।

त्यस्तै उपाध्यक्ष पोखरेलले गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेलायतभित्रको किचलो र अन्तराष्ट्रिय समन्वय परिषदप्रतिको जवाफदेहिता पूर्ण रूपमा समाधान नभएसम्म गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेलायतको सम्पूर्ण आर्थिक कारोवार बन्द गर्न गराउन पदाधिकारीहरूसँग अनुरोधसमेत गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्