एक्लै लडेको भए माओवादीको भन्दा बढी भोट आउने नेपालको दावी

Madhav_Nepal
लोकपाटी न्यूज

काठमाडौँ। नेकपा एकीकृत समाजवादीेका अध्यक्ष माधवकुमार नेपालले गत वैशाख ३० को स्थानीय तह निर्वाचनमा सबै पालिकाहरूमा उम्मेदवारी दिएको भए आफूहरूले २० लाखभन्दा बढी मत ल्याउने दाबी गरेका छन्।

सोमबार शुरू भएको पार्टीका पहिलो केन्द्रीय परिषद्को बैठकलाई सम्बोधन गर्दै भने, “हामीले यसपटक झन्डै २८ प्रतिशत उम्मेदवार मात्रै खडा गरेका थियौँ। यसमा ९ लाख मत पायौँ । यदि हामीले सबै ठाउँमा उम्मेदवारी दिएको भए योभन्दा दोब्बर मत पाउने थियौँ। कम्तीमा पनि २० लाखको सेरोफेरोमा मत पाउने थियौँ। २० लाख मत पाउने हो भने प्रतिनिधि सभामा हाम्रो केही सिट सुरक्षित हुनेछ,” उनले भनेका छन्।

यस्तै उनले अब सम्पूर्ण ध्यान आगामी प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा लगाउनुपर्नेमा जोड दिए। उनले भने, “अब हामीले हाम्रो ध्यान एउटै कुरामा केन्द्रित गर्नुपर्छ। त्यो हो प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन। अब हाम्रो सम्पूर्ण ध्यान त्यसमै राख्नुपर्छ।”

२०७९ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले १७ लाखभन्दा केही बढी मत ल्याएको थियो भने एकीकृत समाजवादीले ४ लाख ३७ हजारको हाराहारीमा मत ल्याएको छ।

तर, सोमबार राष्ट्रिय परिषदको बैठक उद्घाटन गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफूहरू एक्लै लडेको भए २० लाख मत ल्याउने दावी गरेका छन्, जुन दावी स्वाभाविक देखिँदैन। किनकि, माओवादीले १७ लाख मत ल्याउँदा १२२ स्थानीय तहमा जीत निकालेको छ। तर, एकीकृत समाजवादीले २० सिटमा मात्र जीत निकालेको छ।

तर, समाजवादीका अध्यक्ष नेपालले कुन आधारमा २० लाख मत ल्याउने दावी गरे, त्योचाहिँ बहसको विषय नै छ। एमालेबाट भर्खरै विभाजित भएर गठन भएको नयाँ पार्टीको मत स्वाभाविक नै देखिन्छ, जसलाई नेपाल लगायत समाजवादीका नेताहरू अस्वाभाविक मानिरहेका छन्।