भीक्षा मागेर आएको गणतन्त्र होइन : प्रधानमन्त्री

kp sharma oli
लाेकपाटी न्यूज

प्रधानमन्त्री केपी ओली विप्लव नेतृत्वको समूह र पूर्वराजा समर्थकप्रति आक्रामक बनेका छन्। आइतबार संघीय संसद्को हिउँदे अधिवेशनको अन्तिम सत्रलाई सम्बोधन गर्दै उनले हालै सरकारले प्रतिबन्ध लगाएको विप्लव समूहलाई नियन्त्रण गरेरै छाड्ने दाबी गरे।

उनले निरंकुशतन्त्र माग्नेले लोकतन्त्रको रक्षा गर्छु भन्दा सरकारलाई अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएको तर्क गरे। पूर्वराजा समर्थकतर्फ लक्षित गर्दै उनले केही व्यक्तिले अझै रैतान हुने चाहना राखेको टिप्पणी पनि गरे।

‘अहिले सचेत विश्वविद्यालय पढेका केही मान्छेहरू नागरिक भएकामा गर्व गर्न नसक्ने, रैतान हुने इच्छा गर्छन्। जन्मसिद्ध श्रेष्ठताका पाखण्डी सिद्धान्तका पछाडि,’ उनले भने, ‘नेपालमा प्रतिगमनको कुनै सम्भावना छैन। नेपाली जनता सुन्न पनि तयार छैनन्। नेपाली जनताले रगत बगाएर ल्याएको गणतन्त्र हो। भीक्षा पाएर ल्याएको होइन।’

संसद्मा आफ्नो परिचित व्यंग्यात्मक शैलीमा प्रस्तुत भएका प्रधानमन्त्री ओलीले सरकारका उपलब्धिको चर्चा गरेका थिए। मूलधारको राजनीतिमा प्रवेश गरेका सिके राउतसँगको सहमतिबाट देशमा विखण्डनवाद समाप्त भएको दाबी पनि उनले गरे।

विप्लव समूह आपराधिक गतिविधिमा लागेकाले प्रतिबन्ध लगाइएको उनले बताए। ‘चुनाव हुन दिन्नँ भन्ने, निर्दोष मान्छे मार्ने, चन्दाका नाममा लुटपाट गर्ने गरिएको छ,’ ओलीले भने, ‘त्यो समूह कतै दर्ता छैन, ठेगाना छैन, त्यस्तो आपराधिक क्रियाकलाप गर्नेलाई, विध्वंशकारीलाई सरकारले निषेध गर्‍यो। कतिलाई हनहनी ज्वरो आएको छ।’

द्वापर युगमा कृष्णले समेत धेरै सम्झाउने र सम्झाउँदा नमान्नेलाई ठेगान लगाउन हातमा चक्र लिएर हिँड्ने गरेको प्रसंग कोट्याउँदै उनले भने, ‘विध्वंश गर्नेलाई कानुनअनुसार नियन्त्रण गर्न राज्य अघि बढ्यो। ब्याक गियर छैन। हातहतियार बुझाउन समय दिइएको छ। हातहतियार नबुझाए कसरी लिनुपर्छ सरकारलाई थाहा छ।’ सरकारले पटक–पटक आग्रह गर्दासमेत विप्लव समूह वार्तामा आउन नमानेको उनले बताए।

प्रधानमन्त्री ओलीले नेपालमा राजतन्त्र फर्किने कुनै सम्भवाना नभएको बताए। ‘कोही अहिले पनि फालिएको राजतन्त्रको पक्षमा जनमतसंग्रहको कुरा गरिरहेका छन्। लोकतान्त्रिक भन्ने व्यक्तिहरू नै जोगीले फेरी लगाए जसरी हिँडिरहेका छन्’ ओलीले भने, ‘राजतन्त्र भनेर धेरै फट्याकफुटुक नगर्न जनताको तर्फबाट भन्न चाहन्छु।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्