लमजुङ, १० चैत । लमजुङको क्व्होलासोंथर गाउँपालिका–१ कपुरगाउँकी कृपा विकलाई अरुले जस्तै सामाजिक सञ्जाल (फेसबुक) चलाउने रहर छ ।
फेसबुकमा के हुँदो रहेछ भन्ने चासो पनि उत्तिकै छ । तर, परिवारबाट फेसबुक चलाउन रोक लागेको उनी बताउँछिन् । परिवारको कुरा काट्न नसकेपछि उनी फेसबुक चलाउनबाट बञ्चित भएकी छन् ।
‘सबैले फेसबुकको कुरा गर्छन्, चलाउँछन् । मलाई पनि चलाउन त मन छ नि । तर, के गर्नु परिवारको कुरा नमानौं पनि कसरी’ उनले आफ्नो बाध्यता पोख्दै भनिन्, ‘इमो चलाउने गरेको छु । विदेशमा रहेको श्रीमानलाई यसैबाट भिडियो कल गर्छु । म्यासेज पठाउँछु ।’
१९ महिनाअघि कामको सिलसिलामा दुबई गएका श्रीमान् फूलबहादुरको इच्छाअनुसार फेसबुक नचलाएको उनले बताइन् । उनले थपिन्, ‘खोई किन हो । फेसबुक चलाउँछु भन्दा कराउनु हुन्छ । किन चलाउनुपर्यो ? भन्नुहुन्छ । आफ्नो श्रीमानले भनेको मान्नै पर्यो ।’
उनले फेसबुकमा देशभरका गतिविधि थाहा हुने अरुले बताएको सुनेकी छिन् । कृपालाई पनि के रहेछ फेसबुक भनेर बुझ्ने मन छ । तर, परिवारबाट फेसबुक चलाउन बन्देज लगाइएको छ । भन्छिन्, ‘म बुहारी भएकै कारण फेसबुक चलाउन पाउँदिन ।’
कपुरगाउँमा छोरीलाई फेसबुक चलाउन खुल्ला गरेपनि बुहारीले भने चलाउन पाएका छैनन् । फेसबुक चलाएर ज्ञानका कुरा सिक्ने र हेर्ने रहर बोकेका उक्त गाउँका बुहारीले आफ्नो इच्छा मनभित्रै लुकाएका छन् ।
सोही गाउँकै आइतकुमारी विकको पनि फेसबुक आइडी छैन । फेसबुक चल्ने एन्ड्रोइड मोबाइल बोकेपनि उनलाई फेसबुक चलाउने अनुमति दिइएको छैन ।
उनी गाउँमा रहेका अन्य दिदीबहिनीको फेसबुक हेरेर कहिलेकाँही आफ्नो खसखस मेटाउँछिन् । ‘७ कक्षा पढेको छु । मोबाइल चलाउन आउँछ । अक्षर चिनेको छु । फेसबुक पनि चलाउँ कि जस्तो लाग्छ’ आइतकुमारीले भनिन्, ‘श्रीमानले चलाउन दिनुहुन्न । फेसबुक कस्तो हुन्छ भनेर अरुको मोबाइलमा हेर्ने गरेको छु । चित्त बुझाएको छु ।’
एक वर्षअघि साउदी अरेबिया गएका श्रीमान धीरबहादुर विकले इमो चलाएपनि फेसबुक नचलाउ भन्ने गरेको उनले बताइन् ।
गाउँकै उमा विकको श्रीमान दिपेश साउदी गएको २ महिना भयो । श्रीमानसँग कुराकानीका लागि मोबाइल लिएकी छिन् । उनले पनि गाउँका अरु बुहारीले जस्तै इमोबाट श्रीमानसँग कुरा गर्ने गरेको बताएकी छिन् । उनले भनिन्, ‘यो गाउँका कुनैपनि बुहारीले फेसबुक चलाउँदैनन् । मैले मात्र के चलाउनु जस्तो छ । मन भएपनि बुढाले चलाउन दिनुहुन्न’ उनले भनिन्, ‘फेसबुककै कारण कति महिला बिग्रिएको सुनेका छौं । त्यसैले पनि हामीलाई चलाउन नदिनुभएको होला । बुढाले भनेको मान्नै पर्यो ।’



लाेकपाटी न्यूज

