काठमाडौं, १० चैत । विश्व क्षयरोग दिवस ‘समय अबको, क्षयरोग अन्त्यको’ भन्ने नाराका साथ नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
सन् १८८२ मार्च २४ मा चिकित्सक रोबर्ट कोचले शरीरमा क्षयरोगको कीटाणु पत्ता लगाएका थिए । कीटाणु पत्ता लगाएको एकसय वर्षपछिबाट आजकै दिनलाई क्षयरोग दिवस मनाउन सुरु गरिएको थियो । हाम्रो शरीरमा क्षयरोगको किटाणुको जोखिम रहेको हुन्छ । यसरोगका किटाणु निष्कृय र सक्रिय दुई प्रकारका हुन्छन् । शरीरमा रहेको रोग प्रतिरोधात्मक क्षमताले निष्क्रिय क्षयरोगको कीटाणुलाई सक्रिय हुन दिइरहेको हुँदैन । तर सक्रिय क्षयरोगको कीटाणुले क्षयरोग लाग्ने गर्छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा निष्क्रिय क्षयरोग भएका १०० मध्ये १५ लाई भविष्यमा सक्रिय क्षयरोग हुनसक्छ । राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक चिकित्सक भीमसिंह तिंकरीले भने, ‘हामी अधिकांश क्षयरोगको जोखिम समूहमा नै छाैं, रोग छैन भन्ने अवस्था रहँदैन ।’
चिकित्सकका अनुसार निष्क्रिय क्षयरोगको उपचार गरेमा भविष्यमा सक्रिय क्षयरोगमा परिणत हुने सम्भावना न्यून रहन्छ । विशेषगरी रगत, खकार, छाला परीक्षणबाट सक्रिय क्षयरोगको कीटाणुको अवस्थाका बारेमा पत्ता लाग्ने गर्दछ । छातिरोग विशेषज्ञ चिकित्सक सरोज ढुङ्गानाका अनुसार शरीरको तौल घट्ने, सुक्खा खोकी लागिरहने, राति ज्वरो तथा पसिना आउने सक्रिय क्षयरोगका लक्षण हुन् । यस्ता व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा श्वासप्रश्वासका माध्यमले कीटाणु हावामा फैलिन सक्छ । हावामा फैलिएका अति सुक्ष्म जीवाणु स्वस्थ्य व्यक्तिमा सर्न पुगी क्षयरोगको सङ्क्रमित हुनसक्छ ।
नेपालमा क्षयरोग निवारणका कार्यक्रम शुरु भएको ६० वर्षभन्दा बढी अवधि पूरा भइसक्यो । तर, सरकारले यस क्षेत्रमा खासै उपलब्धि हासिल गर्न सकिरहेको छैन । स्वास्थ्य मन्त्रालयसित क्षयरोग निवारणका लागि सरकारी तथा दातृ निकायबाट कति पैसा खर्च भयो भन्ने कुनै तथ्याङ्क छैन । चालू आवमा मात्र यस कार्यक्रमका लागि रु ७० करोड रकम विनियोजित छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा प्रत्येक वर्ष ४५ हजार नयाँ क्षयरोगीका बिरामी थपिन्छन् । केन्द्रले गत आवमा नयाँ र पुराना नेपालमा करीब ६० हजार क्षयरोगी रहेका जनाएको छ । कूल मृत्यु हुने रोगमध्ये क्षयरोग साताैं नम्बरमा रहेको छ । दैनिक १८ को मृत्यु यही रोगबाट भइरहेको छ ।
क्षयरोगको उपचार प्रक्रियामा नआएका बिरामी पत्ता लागाई उपचारमा ल्याउनु स्वास्थ्य मन्त्रालयलाई प्रमुख चुनौती बनेको छ । केन्द्रका निर्देशक चिकित्सक तिंकरीले महिलाले स्वास्थ्य परीक्षण कम गराउने र टाढाबाट आउने भएका कारण धेरै महिला क्षयरोग कार्यक्रमको दायरामा समावेश हुन नसकेको बताए ।
क्षयरोगको उपचार सेवा तथा औषधि निःशुल्क रहेको छ । निःशुल्क औषधिका लागि मात्र वार्षिक रु १५ करोडभन्दा बढी रकम खर्च हुने गर्दछ । क्षयरोग सङ्क्रमितमध्ये ६४ प्रतिशत पुरुष र ३६ प्रतिशत महिला रहेका छन् । नेपालमा क्षयरोगीका बिरामी पत्ता लगाउने दर प्रतिलाख ११२ रहेको छ । केन्द्रका अनुसार गत आव २०७४÷७५ मा एक लाख ९६ हजार ३६३ मा क्षयरोगको आशङ्का गरिएको थियो ।
जसमध्ये खकार परीक्षण गर्दा ३२ हजार ४७४ मात्र उपचारको पहुँचमा आएका थिए । नयाँ क्षयरोगीका १३ हजार बिरामी पत्ता लगाई उपचारको पहुँचमा ल्याउन नसकिएको ”, निर्देशक चिकित्सक तिंकरी बताउँछन् ।



लाेकपाटी न्यूज

