काठमाडौं, १० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन् । आइतबार दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए । संबोधनसँगै प्रधानमन्त्री ओलीले सिके सहमति र विप्लव प्रतिबन्धका बारेमा संसदमा जवाफ दिने बताइएको छ ।
सल्लाहकार अर्यालकाअनुसार संसद बैठकमा सरकारले गरेका काम कारवाही र निर्णयबारे सांसदहरुले पछिल्लो समय संसदमा उठाएको प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिन लागेका हुन् । यसअघि गत फागुन २४ गते सरकारले स्वतन्त्र मधेश गठबन्धनका सिके राउतसँग ११ बुँदे सहमति गरेको थियो । त्यस्तै फागुन २८ गते नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध पनि लगाएको थियो ।
यी दुवै निर्णयको प्रतिपक्षी र सत्तापक्षबाटै पनि चर्को आलोचना भइरहेको छ । सरकार र राउत समुहबीच ११ बुँदे सहमतिपछि राउत राजनीतिक मुलधारमा आएको सरकारी पक्षले दाबी गरेपनि सहमतिपछि पनि उनका गतिविधि शंकास्पद रहेको भन्दै आलोचनाको क्रम रोकिएको छैन । सिकेसँगको सहमतिले देश टुक्राउने अभियानमा रहेका राउतलाई सरकारले नै वैधानिकता दिएको तथा राजनीतिक माग बोकेका विप्लवलाई चाहिँ प्रतिबन्ध लगाएर सरकारले नै द्वन्द्व निम्त्याएको भन्दै संसदमा सरकारी निर्णय र सहमतिको चर्को आलोचना हुँदै आएको छ ।
त्यस्तै सरकारले संसदमा पेश गरेको राष्ट्रिय सुरक्षा परिषदको काम कर्तव्य र अधिकारबारे व्यवस्था गर्न बनेको विधेयकका बारेमा समेत विरोध भइरहेको छ । सो विधेयक गत फागुन २९ गते संसदमा दर्ता भएको थियो । जसमा प्रधानमन्त्रीले आफुखुसी सेना परिचालन गर्नेगरी विधेयक ल्याएर निरंकुश बन्न खोजेको भन्दै त्यसलाई सच्याउनुपर्ने आवाज संसदमा उठ्दै आएको छ ।
यसअघि गत माघ ४ गते प्रधानमन्त्री ओलीलेसंसदमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिएका थिए ।



लाेकपाटी न्यूज

