काठमाडौं, ९ चैत । कोरियाको भाषाका परीक्षाका लागि पहिलो दिन साँझ ७ बजेसम्म ५५ हजार ९४ युवाले आवेदन दिएका छन् ।
रोजगार अनुमति प्रणाली ९ईपीएस० अन्तर्गत दक्षिण कोरियाको भाषा परीक्षामा सहभागी हुन ५५ हजार ९४ युवाले आवेदन दिएका हुन् । ईपीएसले जेठ २५ र २६ गते हुने भाषा परीक्षाका लागि शुक्रबारदेखि चैत १७ गतेसम्म आवेदन दिन सकिने जानकारी दिएको छ । ईपीएस शाखाका प्रमुख कृष्ण खनालले अनलाइनबाटै फाराम र शुल्क बुझाउने व्यवस्था गरेकाले विगतमा जस्तो बैंकमा भीड नलागेको बताए । ग्लोबल बैंकको शाखासहित आईएमई पे र ई सेवामार्फत शूल्क बुझाउने व्यवस्था गरिएको उनको भनाइ छ ।
परीक्षा शुल्क २४ अमेरिकी डलर तोकिएको छ । उम्मेदवारले आफूलाई पायक पर्ने परीक्षा केन्द्र रोज्नुपर्नेछ । पोखरा केन्द्रमा १२ हजार जनाले मात्रै आवेदन दिन पाउने व्यवस्था गरिको छ । पोखरामा फस्ट कम फस्ट सर्भिसको व्यवस्था गरिएको हो । सन् २०१९ का लागि १० हजार ५० जनाको कोटा छुट्याइएको छ । उत्पादनतर्फ ७ हजार ५० र कृषि क्षेत्रतर्फ ३ हजार जनाको कोटा तोकिएको हो । यो अहिलेसम्मकै सबैभन्दा बढी संख्या हो ।
परीक्षामा सहभागी हुनेले एउटा क्षेत्र रोज्नुपर्नेछ । यो परीक्षामा २०३६ चैत १० देखि २०५७ चैत ९ गतेभित्र जन्मिएका नेपालीले दरखास्त दिन पाउनेछन्। भाषा र सीप परीक्षामा उत्तीर्ण भएकाले मात्रै रोजगारका लागि आवेदन दिन पाउने छन्। भाषा परीक्षा उत्तीर्ण भएकाले सीप परीक्षणमा सहभागी हुन पाउनेछन् । कोरिया जाने युवाले ४ वर्ष १० महिना काम गर्न पाउनेछन्।
आकर्षक गन्तव्यका रूपमा स्थापित कोरियामा हालसम्म ५९ हजार ६ सय ९८ जना गइसकेका छन्। भाषा परीक्षामा उत्तीर्णमध्ये ९ हजार ४ सय नेपाली कोरिया जान पाएका छैनन्। कोरियाले सन् २००८ देखि नेपाली कामदारलाई कृषि र उत्पादन क्षेत्रमा लैजान थालेको हो ।



लाेकपाटी न्यूज

