काठमाडौं, ८ चैत । खानेपानी मन्त्री बिना मगरले पानीको स्रोत संरक्षण गर्न सबै जना एकजुट भएर अभियान सञ्चालन गर्नुपर्ने बताएकी छिन्।
विश्व पानी दिवसको उपलक्ष्यमा शुक्रबार राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले पानीको स्रोत संरक्षणमा सरकार र नागरिकको तर्फबाट अभियान चलाउनु पर्ने बताएकी हुन्।
सोसाइटी अफ पब्लिक हेल्थ इन्जिनियर्स (सोफेन) र खानेपानी तथा ढल व्यवस्थापन विभागले संयुक्त आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पानीको स्रोत संरक्षणमा एकजुट भएर जुट्न आग्रह गरिन्।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, “अन्नका लागि हामी जिन्दगीभर समय खर्चिन तयार छौं। तर, मानव जीवनमा नभई नहुने पानीका लागि भने समय दिंदैनौं । प्रकृति र वातावरणसँग पानीको घनिष्ट सम्बन्ध छ । त्यसैले पानीको मुहान जोगाउन सबै जना लागौं।”
खानेपानीमा आम जनताको पहुँच पुर्याउन योजना बनाएर सरकार अघि बढिरहेको उनले स्पष्ट पारिन्। खानेपानीमा सहज पहुँच पुर्याउन, स्रोतको संरक्षण गर्न र वितरण प्रणाली चुस्त बनाउन साझा ऐन निर्माणको तयारी भइरहेको उनले जानकारी दिए। पानीका कारण हुने सबै किसिमका सामाजिक विभेद अन्त्य गर्न पनि मन्त्री मगरले सबैलाई सुझाव दिइन्।
कार्यक्रममा पूर्वमन्त्री एवं नेकपाका नेता गणेश साहले पिउने पानीमा सरकारले लगानीका लागि ध्यान नदिँदा प्राथमिकतामा नपरेको बताए। ठूलठूला जलविद्युतका लागि मात्र सरकारको ध्यान गएको बताउँदै पूर्वमन्त्री साहले मानव जीवनमा नभई नहुने पिउने पानीमा भने कत्ति पनि ध्यान नदिएको गुनासो गरे।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदिशचन्द्र पोखरेलले जनसंख्या र आवादीका आधारमा खानेपानीका गुरु योजनाहरु बनाउन सरकारलाई सुझाव दिए।



लाेकपाटी न्यूज

