काठमाडौं, ८ चैत । नेपाली कांग्रेसका नेता गगन थापाले जिम्मेवार नेताहरुलाई गैरजिम्मेवार अभिव्यक्ति नदिन आग्रह गरेका छन्।
शुक्रबार गिरिजा प्रसाद कोइराला फाउन्डेशनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पार्टीभित्र खुला छलफल नगर्ने तर सार्वजनिक कार्यक्रममा विभिन्न विषयमा जनमत संग्रहमा जान सकिने कुरा जिम्मेवार नेताहरुले गरिरहे पार्टी ठूलो भड्खालोमा जाकिने निश्चित रहेको बताए ।
पार्टीका महामन्त्री शशांक कोइरालाले संघीयता, गणतन्त्र तथा हिन्दु राष्ट्रका पक्षमा जनमत संग्रह गर्न सकिने अभिव्यक्ति दिइरहँदा नेता थापाले उनको भनाईमा असहमति जनाएका हुन्।जिम्मेवार नेताहरुबाटै यस्ता खालका अभिव्यक्ति आइरहे पार्टी ठूलो भड्खालोमा जाकिने उनको भनाइ छ । नेता थापाले पार्टीलाई भड्खालोमा हाल्ने र नेता कार्यकर्ता आफै अलमलमा पार्ने खालको अभिव्यक्ति नदिन पनि आग्रह गरेका छन् ।
यस्तै नेता शेखर कोइरालाले सरकारले संघीयता समाप्त पार्ने काम गरिरहेको आरोप लगाए । उनले प्रधानमन्त्री केपी शर्मा ओली सर्वसत्तावादतर्फ उन्मुख रहेको उल्लेख गर्दै सचेत रहन पार्टीका नेता, कार्यकर्तालाई आग्रह समेत गरे ।



लाेकपाटी न्यूज

