काठमाडौं, ८ चैत । पछिल्लो समय सामाजिक अभियानमा निकै सक्रिय रहँदै आएका धुर्मुस–सुन्तली अहिले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने योजनामा व्यस्त छन् ।
सोही क्रममा हाँस्य टेलिसिरियल ‘भद्रगोल’ समूहले च्यारिटी होली खेलेर क्रिकेट रङ्गशालाका लागि आर्थिक सहयोग जुटाएका छन् । उनीहरुले होली खेलेर जुटाएको पैसा धुर्मुस–सुन्तली फाउन्डेशनलाई हस्तान्तरण गरेका छन् । भद्रगोल समूह र जेष्ठ सहकारी संस्थाले संयुक्त रूपमा आयोजना गरेको च्यारिटी कार्यक्रममा एक लाख ५१ हजार ४४० रुपैयाँ उठेको थियो ।
उक्त रकम सीताराम कट्टेल र कुञ्जना घिमिरेले चितवनमा बनाउन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि हस्तान्तरण गरिएको छ । यसपटकको होली च्यारिटी कार्यक्रम गरेर मनाएको कुमार कट्टेल ‘जिग्री’ले जानकारी दिए ।
उनले भने, ‘आगामी दिनमा यस्तै रचनात्मक गतिविधि गरेर सक्रियता बढाउँछौँ ।’ भद्रगोल समूहले बेलाबखत यस्ता सिर्जनात्मक कार्य गर्दै आइरहेको छ ।



लाेकपाटी न्यूज

